नेपालगन्ज १० चैत्र : सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन १३ बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै सकिएको छ ।
घोषणापत्रमा सबै सामुदायिक रेडियोहरुले स्वामित्व लिन सक्ने गरी आचारसंहिता निर्माण गर्दै त्यसको प्रभावकारिता कार्यान्वयन गर्ने, रेडियोको नेतृत्व र प्रशारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका लगायतका समुदायलाई समान ढंगले अवसर पाउने वातावरण बनाउन नीतिगत रुपमै व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।
यसैगरी नेपालको संविधान २०७२ द्वारा प्रदत्त सूचनाको हक, मिडियाको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतालाई व्यवहारिक रुपमा आधारभूत तहसम्म अनुभूत गराउन सचेत रहँदै थप उर्जा र रणनीति सहित अघि बढ्ने, बागेश्वरी मन्दिर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लगायत यस क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन क्षेत्रहरुको प्रचारप्रसार गर्ने प्रतिवद्धता गरिएको छ ।
यस्तै, घोषणापत्रमा राष्ट्रिय आम सञ्चार नीति– २०७३ को व्यवस्था अनुसार सामुदायिक रेडियोको छुट्टै ऐनको व्यवस्था गर्न, रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियोको दिगोपनका लागि नीति तथा कानून ल्याउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग पनि गरिएको छ ।
त्यस्तै विज्ञापन वितरणमा विद्युतीय र छापा माध्यमप्रति गरिएको विभेद अन्त्य गरी समानुपातिक विज्ञापन नीति लागू गर्न माग समेत घोषणापत्रमा गरिएको सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले बताए ।
बुधबार र विहिबार दुई दिनसम्म चलेको रेडियो सम्मलेन एवम् साधारणसभाको कानून मन्त्री दीलेन्द्र प्रसाद बडुले उद्घाटन गरेका थिए । सम्मेलनमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरुको सहभागिता थियो ।