सेनाले बनायो सामुदायिक वनमा साइकल ट्रेल


सेनाले बनायो सामुदायिक वनमा साइकल ट्रेल

नेपालगन्ज १२ चैत्र : नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले सामुदायिक वनमा साइकल ट्रल निर्माण गरेकोछ । बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर–५ मा रहेको बाबुकुवा सामुदायिक वनमा उक्त साइकल ट्रेल बनाएको हो ।

नेपालगन्ज साइक्लिङ क्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले बनाइदिएको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गरे ।

गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउनु पाउँदा खुशी लागेको बताए । उनले नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको बताए ।

नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने उद्घोष गरे ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा माउण्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरुलाई साइकल ट्रेल बनेपछि अभ्यास गर्न सहज भएको बताउँदै उनले नेपाली सेनालाई धन्यवाद दिए ।

यस्तै बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले बाँकेमा माउन्टेन बाइक चलाउनेको संख्या बढिरहेको र साइकल ट्रेल बनेपछि सबै जना उत्साहित भएको बताए ।

आधारभूत स्तरको बनेको उक्त ट्रेल ५ किलोमीटरको छ । भौगोलिक रुपमा तराईमा रहेको उक्त ट्रेलमा अप हिल – डाउन हील सेक्सन कम मात्रामा भए पनि टर्निङ्ग सेक्सनहरु धेरै रहेको छ ।

नेपाली सेनाले सय जना जनशक्ति लगाएर ५ किलोमिटर दूरीको साइकल ट्रेल बनाइदिएको हो । सामुदायिक वनको झाडी सफाई गरेर साइकल ट्रेल बनाइएको छ । साइकल ट्रेल बनेसँगै अब बाँकेका माउन्टेन बाइक प्रतियोगितामा भाग लिने खेलाडीले नियमित अभ्यास गर्नसक्ने छन् ।

यसको निर्माण पश्चात नेपालगन्जदेखि सबै भन्दा दूरीको हिसाबले नजिक हुने छ, साइक्लिङ विशेष गरी माउन्टेन बाईकिङ्ग को आधारभूत सिकाइ हुने र खेलाडी उत्पादन गर्न सजिलो हुने छ । त्यसका साथै प्रकृतिको आनन्द लिँदै साइक्लिङ गर्न रुचाउने हरुका निम्ति यो ट्रेल प्रमुख गन्तव्य हुने छ ।

नवनिर्मित साइकल ट्रेलको नाम सिद्धि विनायक एमटीवी, ट्रेल राखिएको छ ।