नेपालगन्ज १६ चैत्र : बाँकेमा क्रियाशील मिडिया सम्बद्ध संघसंस्थाका अगुवाले पत्रकारितालाई थप मर्यादित बनाउँदै लानुपर्नेमा जोड दिएकाछन् । नेपाल पत्रकार महासंघ ६७औं स्थापना दिवसको अवसरमा बाँके शाखाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
जिल्लामा क्रियाशील विभिन्न मिडिया सम्बद्ध संघसंस्थाका अगुवाले बाँकेका पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता ब्यक्त गर्दै थप मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
मिडिया सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पत्रकारको हक हित, प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको पेशागत सुरक्षा लगायतका विषयमा महासंघकै अगुवाइमा सहकार्य गरेर संयुक्त रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले पछिल्लो समय पत्रकारितामा विकृती फैलिदैँ गएकाले यसलाई रोक्न महासंघसंगै पेशागत संघसंगठनले भूमिका खेल्नुपर्ने सुझाए ।
‘पत्रकारका हक, हितका विषयमा बोलेर मात्र भएन, संस्थागत विकासका लागि पनि महासंघ कटिबद्ध भएर लाग्नुपर्छ’ शुभकामना व्यक्त चौलागईले थपे–‘संस्थागत विकासमा महासंघ अझ सशक्तरुपमा अघि बढ्नुपर्ने देखिन्छ, यसका साथसाथै सबैलाई एकताबद्ध बनाउनतर्फ अग्रसर हुनुपर्छ ।’
मुलुकमा लोकतन्त्र प्राप्तीका लागि महासंघले खेलेको भुमिका अविष्मरणीय छ । पेशगत मर्यादा र आचरसंहिता भित्र रही गरिने पत्रकारिता विश्वस्नीय र भरपर्दाे हुन्छ तर, बेलाबखत पत्रकार र पत्रकारितामाथि लाग्ने आक्षेप र अरोप महासंघले चिर्दै लानुपर्ने चौलागाईको भनाइ थियो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरेले आफुले नेतृत्व गर्दादेखि बाँकेमा संस्थागत विकासको अभ्यास सुरु भएको बताए ।
‘पेशागत अभ्यास बलियो र भरिलो भएपछि पत्रकार बलियो हुन्छन्’ गैरेले अगाडी थपे–‘प्रेस स्वतन्त्रताको रक्षा गर्नका लागि भएपनि महासंघले सबैलाई गोलबद्ध गर्न सक्नुपर्छ ।’
उनले बाँकेको पत्रकारिता र विगतको इतिहासलाई सम्झदै भावि पुस्ताका लागि महासंघ कस्तो बनाउने र यसको भविष्य कस्तो हुने भन्ने विषयमा बहस गर्नुपर्ने बेला भइसकेको बताए ।
यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले पेशगात संठन भएकाले पेशगत आँच आउने काम गरिनु नहुने बताए ।
‘पत्रकार र प्रजातन्त्र एकअर्काको पुरक हो, यसलाई थप मर्यादित बनाऔं’ गौतमले अगाडी भने–‘पत्रकारका नाममा हुने विकृति, विसंगतिप्रति महासंघले निगरानी गरोस्, नियन्त्रण गरोस् । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारीले पत्रकारिताप्रति आर्कषण बढ्दै जाँदा विकृति पनि मौलाउँदै गएको बताए ।
‘पत्रकारका विभिन्न संघसंस्थामा आकर्षण बढ्दो छ, तर महासंघलाई अभिभावकीय संस्थाका रुपमा सबैले स्वीकार्न चाहादैनन्’ अन्सारीले अगाडी थपे–‘महासंघ एक्लैको प्रयासले पत्रकारका समस्या र चुनौती समाधान गर्न सकिदैन यसका लागि पेशगात संघसंस्था एकिकृत हुनुपर्छ ।’
शुभकामना दिनेक्रममा महासंघ बाँकेका सल्लाहकार एबम प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले महासंघले पत्रकारका अन्य संघसंगठनलाई समेत गोलबद्ध गर्न नसकेको गुनासो पोखे ।
उनले भने–‘आस्थागत पत्रकारका संगठनलाई मात्र होइन पत्रकारका अन्य संघसंगठनलाई पनि महासंघले गोलबद्ध गर्नुपर्छ अनिमात्र महासंघको ओझ बढ्छ ।’
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाले पत्रकारका नाममा विकृति बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरे । उनले भने ‘पत्रकारका नाममा कमाउ धन्दा, बार्गेनिङ्ग गर्ने र विवादमा तानिने कामहरु भइरहेका छन्, यसले हाम्रो मात्र नभइ सिङ्गो पत्रकारिताको उपहास गर्ने काम भएकोछ ।’
विगतको गर्विलो ईतिहासलाई जिवन्त पार्नका लागि भएपनि पत्रकार–पत्रकारबीचको एकतामा महासंघले कदम चाल्नुपर्छ, अभिभावकीय संस्था भएकाले यसो हुन सके यस्ता विकृति स्वतहः चिरिदै जाने रोकायको भनाईछ ।
प्रगतिशिल पत्रकार संघ बाँकेका संयोजक तिलक गाउँलेले शुभकामना दिदै भने–‘सामाजिक सञ्जाल, यूटूब र फेसबुकमा लेख्ने पनि पत्रकारको नाम भजाएर नाजायज फाइदा लिइरहेकाछन् । यसले बाँकेको सिंगो पत्रकारितामाथि प्रश्न खडा गरेकोछ ।’
गाउँलेले भने ‘जो पनि पत्रकार भएकाछन्, यसरी पत्रकारका नाममा गैरपत्रकार हावि हुदैँ गएकाछन् । यसलाई रोक्नुपर्छ । कमीकमजोरी उनका हुन्छन् दोष क्रियाशील पत्रकारले पाउने । यसले वास्तविक पत्रकारको शाख घट्दै गएकोछ ।’
शुभकामना सन्देश दिदैँ नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लले नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउन महासंघ गम्भीर भएर लाग्न आग्रह गरे ।
‘प्रेस स्वतन्त्रता कुण्ठित पारिने कार्य कोही कसैबाट गरिनुहुँदैन, पत्रकार र पत्रकारिता भजाएर अघि बढ्ने जोकोहीलाई ठाउँका ठाउँ कानूनी दायरामा ल्याउनुपर्छ’ सचिव मल्लले अगाडी थपे–‘आफू अनुकुल समाचार आए स्याबासी, कमिकमजोरी औल्याइदिए पत्रकार र पत्रकारितामाथि धम्की दिने, हातपात गर्ने प्रवृत्तिका विरुद्ध पेशागत संघसगठनसंगै महासंघ दरिलोरुपमा प्रस्तुत हुनुपर्छ ।’
‘प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीका विषयमा युनियन प्रतिबद्ध छ, आफ्ना संगठनबाट पत्रकार आचारसंहिता, मर्यादालाई सशक्त बनाउदै लगेका छौंं’ मल्लले भने–‘वास्तविक पत्रकार आचारसंहितामा बाधिएको हुन्छ, मर्यादाभित्र रहेको हुन्छ । गैरपत्रकारका कारण प्रेस स्वतन्त्रता कुण्ठित पार्ने, पत्रकार र मिडिया हाउसमाथि प्रहार हुने कार्य भइरहेको छ ।’
शुभकामना दिनेक्रममा सञ्चारिका समूहकी जिल्ला अध्यक्ष रुपनी जीएमले महिलाहरुको संगठन भएकै कारण सञ्चारिका समुहलाई बेवास्ता गरिदै आएको आरोप लगाइन् । महासंघ बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको उक्त कार्यक्रममा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो ।