नेपालगन्जमा बाँके र बर्दियाका भूपू सैनिक सम्मेलन

भूपू सैनिकले राजनीति गरे पनि सैनिक अनुशासन देखाउन प्रधानसेनापतिको आग्रह


भूपू सैनिकले राजनीति गरे पनि सैनिक अनुशासन देखाउन प्रधानसेनापतिको आग्रह

नेपालगन्जमा आयोजित सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्मा । तस्विर सौजन्य : आर सुवेदी

नेपालगन्ज २१ चैत्र : प्रधानसेनापति प्रभुराम शर्माले भूपू सैनिकले राजनीति गरे पनि सैनिक अनुशासन देखाउन आग्रह गरेकाछन् । नेपालगन्जमा आयोजित बाँके र बर्दियाका नेपाली सेना भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

उनले भूपू सैनिकलाई समाजमा उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गर्दै भने–‘तपाईंहरू इच्छाएको राजनीतिक दलमा लाग्नुस् । तर, सेनामा हुँदा सिकेको सैनिक अनुशासनलाई पालना गर्दै उच्च नैतिकवान, राम्रो र अनुशासित चरित्र प्रदर्शन गर्नुस् ।’

उनले राष्ट्रियहितको रक्षा गर्न सेना सधैं गम्भीर रहेको जानकारी दिँदै राष्ट्रलाई आपत पर्दा भूपू सेनाले गरेको सहयोगको उच्च प्रशंसा गरे ।

प्रधानसेनापति शर्माले स्रोत–साधनले भ्याएसम्म भूपू सैनिकको जीवनस्तर उकास्न सेनाले विभिन्न योजना बनाएर काम गरिरहेको बताउदै भने–‘ समाज राम्रो भए मात्र राष्ट्र राम्रो हुन्छ त्यसैले समाजलाई सहयोग गरेर केही न केही योगदान दिनुहोस् ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको प्रष्टयाए ।

प्रधानसेनापति शर्माले सेनाका लागि एउटा सैनिक इञ्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको र छिट्टै कार्यान्वयन हुने बताए । सेनाले लमजुङमा नेपाली सेना कृषि कलेज स्थापना गरिसकेको छ ।

प्रधानसेनापति शर्माले शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सेवा सहुलियत यी चार खम्बालाई आधार बनाएर सैनिक कल्याणकारी कोषको लगानी बढाएको बताए ।

सैनिक कल्याणकारी कोषमा अहिले ६४ अर्बभन्दा बढी रकम मौज्जाद छ । ०३४ सालमा एक करोड २४ लाखबाट कोष स्थापना गरिएको थियो । उक्त रकमको ब्याजबाट सैनिक हितका कार्य सञ्चालन हुने र मूल धन नचलाइने शर्माले बताए ।

उक्त कार्यक्रममा बलाधिकृत रथी बालकृष्ण कार्कीले सैनिक कल्याणकारी कोषको सेवा–सुविधा विस्तार गर्दै स्वेदशमै रोजगारीको अवस्था सिर्जना गर्न लागिपरेको बताए ।

नेपाली सेना कल्याणकारी बोर्ड कार्यालयका अवकाश प्राप्त रथी गौरव तण्डुलले स्वागत गरेको कार्यक्रममा नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघका उपाध्यक्ष सहायक रथी अवकाश प्राप्त डाक्टर केशर भण्डारी, अवकाश प्राप्त रथी प्रादेशिक नेपाल भुषण चन्द र बलाधिकृत रथी बालकृष्ण कार्कीले सम्बोधन गरेका थिए ।

सो सम्मेलनमा भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिकलाई सम्मान र एकल तथा अशक्तलाई सहायक सामग्री हस्तान्तरण गरिएको थियो । यसैक्रममा ७ लाख ऋण सहयोग पाउने ३ जना र १५ लाख पाउने २ जना सेवा निबृत्त सैनिक परिवारलाई व्यवसाय सञ्चालनको लागि ऋण उपलब्ध गराईएको थियो ।

यस्तै माहुरी पालनमा उल्लेखनीय योगदान दिएको भन्दै अवकास प्राप्त सुवेदार पुरमल बस्नेतलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । भने सुबेदार घनश्याम मल्ललाई स्कुटर उपलब्ध गराइएको थियो । सम्मेलनमा मार्चपास, विभिन्न जातजाति वेशभूषाको नाच देखाइएको थियो । प्रधानसेनापति शर्माले भूपू सैनिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको गुनासो सुनेका थिए ।