नेपालगन्जको मेयरमा विष्टको अग्रता यथावत, मिश्र पछ्याउँदै


नेपालगन्जको मेयरमा विष्टको अग्रता यथावत, मिश्र पछ्याउँदै

नेपालगन्ज ३१ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले अहिले पनि अग्रतालाई यथावत राखेका छन् । पछिल्लो मत परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ४ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै प्रमुख पदमा नेकपा एमालेका पशुपतिदयाल मिश्रले २ सय ३८ र राप्रपाका नन्दलाल बैश्यले २ सय १२ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ सय ७२ मतको अन्तर छ ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३ सय ७, राप्रपाकी बिन्दु चर्तीमगरले २ सय ५९ र नेकपा एमालेकी शान्ति ढकालले २ सय २६ मत प्राप्त गरेकी छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको मत गणना भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा भइरहेको छ । मतगणनाको गति अत्यन्त सुस्त भएकाले मत परिणाम सुन्न प्रतिक्षा गरेका सर्बसाधारण आक्रोशित भएका छन् । भेरी प्राविधिक शिक्षालयको मुलगेट बाहिर ठुलो संख्यामा भेला भएका सर्बसाधारणले मतगणना कार्यमा ढिलाई भएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

आधिकारिक रुपमा मत परिणामबारे जानकारी पाउन भेरी प्राविधिक शिक्षालयमै पुगेका पत्रकार तथा सञ्चारकर्मीलाई समेत सकस भइरहेको छ । नेपालगन्जमा अहिलेसम्म वडा नम्बर–२३ को मात्र गणना कार्य सम्पन्न भएको छ । यस्तै वडा नम्बर १ सहित केही वडाको गणना अहिले पनि चलिरहेको छ ।