बाँकेका ८ पालिकामा कसले कहाँ जिते ?


बाँकेका ८ पालिकामा कसले कहाँ जिते ?

नेपालगन्ज १ जेठ : बाँकेको ८ पालिकाका १५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकेमा कुल ८१ वटा वडामध्ये अहिलेसम्म १५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको हो ।

आईतबार राती सवा १२ बजेसम्म प्राप्त अपडेट अनुसार नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, नेकपा माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टी (जसपा)ले २ तथा राप्रपाले १ वटा वडा जितेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् ।

उनले कुल ७८१ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाका वडाअध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे । भने नेपाली काँग्रेसले ५८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।

नेपालगन्ज वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठ निर्वाचित भए । राप्रपाका मनोजले ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसअघि उक्त वडा नेपाली काँग्रेसले जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । राप्रपाका विजयी उम्मेदवार मनोज र निकटतम प्रतिद्वन्द्वी प्रदीपबीच १६ मतको अन्तर छ । यस्तै वडा नम्बर–२ मा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा समेटिएका हुन् ।

नेपालगन्ज २२ मा जनता समाजवादी पार्टी (जसपा)का अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षको उम्मेदवार भएका थिए । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका विद्याराम वर्मा निर्वाचित भएका थिए ।

हलवाइले ६१५ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विद्यारामले ६०४ मत प्राप्त गरे । हलवाई ११ मतले विजयी भएका हुन् । भने राप्रपाका चेतबहादुर घर्तीमगरले ३४३ मत प्राप्त गरे ।

नेपालगन्ज २३ मा नेपाली काँग्रेसका जबर अलि बेहना २३२ मत प्राप्त गर्दै निर्वाचित भए । जब्बर अलीले निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद हुसेन शेषलाई ४० मतान्तरले हराए । जब्बर काँग्रेसको वडा नम्बर–२३ को बुथ सभापति समेत हुन् । जसपाका शेष यस अघिका वडा अध्यक्ष हुन् । शेषले १९४ मत पाएका छन् ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका जसपाको प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडा अध्यक्षमा एक हजार १ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ८४० मत प्राप्त गर्यो भने नेकपा माओबादीले ५४० तथा नेकपा एमालेले १९८ मत प्राप्त गर्दा राप्रपाले १५१ मत प्राप्त गरेकोछ ।

वडा नम्बर २ मा नेकपा माओबादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी भए । नेकपा माओवादी केन्द्रका गुप्ता दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडा अध्यक्ष थिए । गुप्ताले ८७५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल कुमार बर्माले ७८४ मत ल्याए ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन् । उनीसहित एमालेको पुरै प्यानल निर्वाचित भएको हो ।

खड्काले ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तेज बहादुर सुवेदीले ६ सय ४१ मत प्राप्त गरेका छन् । यसैगरी खुल्ला सदस्यमा एमालेकै चुर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला बिक निर्वाचित भएका छन् ।

यमकुमारी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाटै महिला सदस्यमा निर्वाचित भएकी थिइन् । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले वडाअध्यक्ष सहित ३ वडासदस्य जितेको थियो । राप्ती सोनारी १ नम्बर नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निर्वतमान सभापति माधवराम खत्रीको वडा हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् ।

उनी भारी मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रतिद्वन्दी उम्मेदवार तुलाराम खत्रीलाई ४ सय ८७ मतअन्तरले हराउँदै ओली वडा अध्यक्षमा विजयी भएका हुन् । कुल ४ हजार ६ सय ५५ खसेको मत मध्ये ओलीले २ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलाराम खत्रीले एक हजार ६ सय १० मत प्राप्त गरे । भने राप्रपाका मदनबहादुर खत्रीले ३६९ तथा नेकपा माओबादी केन्द्रका तिलबहादुर घर्तीमगरले २०९ मत प्राप्त गरे ।

राप्तीसोनारी ३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका अध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार तीन सय ४३ मत ल्याएर प्यानलै विजयी भए ।

यसैगरि, महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुल्ला सदस्यतर्फ पुन्वा थारु र मंगलबहादुर ओली विजयी भएका छन् । यसअघि निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको थियो ।

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का बद्रीप्रसाद जैसीको प्यानल विजयी भएकोछ । नेकपा एमालेको गढका रुपमा परिचित उक्त वडाको वडाअध्यक्षमा माओवादीका बद्रीप्रसादले ७ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र खनालले ६ सय ४८ मत प्राप्त गरे ।

कोहलपुर १५ मा नेपाली काँग्रेसका दीपेन्द्रकुमार थारु वडाअध्यक्षमा निर्वाचित भएका छन् । वडा अध्यक्षमा काँग्रेसको पूरै प्यानल निर्वाचित भएको हो ।

त्यस्तै खुजुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका मनबीर खत्री विजयी भएकाछन् । एमालेको पकड मानिने १ नम्बर वडामा काँग्रेस–माओवादी गठबन्धनका काँग्रेसबाट उम्मेदवार मनवीर १८५ मत अन्तरले निर्वाचित भए । २०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा एमालेका सुमन मल्ल विजयी भएका थिए ।

खजुरा २ मा काँग्रेस–माओबादी गठबन्धनका उम्मेदवार धनिराम ओलीले विजयी भए । ओलीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदार समर बहादुर खत्री हराएका हुन् ।

माओवादी केन्द्रका धनीराम ओलीले ३ सय ७८ मत अन्तरले खत्रीलाई हराएका हुन् । ओलीले २ हजार ४ सय २९ मत ल्याउँदा खत्रीले २ हजार ५१ मत ल्याएका थिए । वडामा गठवन्धन कै उम्मेदवार मैसरी पुन महिला सदस्यमा निर्वाचित भएका हुन् । एमालेका ३ जना सदस्य पदका उम्मेदवार बिजयी भएका छन् । दलित महिला सदस्य सिता बिक, खुल्ला सदस्य मिना सुनार र अर्का खुल्ला सदस्य लक्ष्य बिक विजयी भएका हुन् ।

डुडुवा गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएकोछ । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याए । तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत ल्याए ।

बैजनाथ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका रुपबहादुर मल्ल निर्वाचित भएका छन् । यद्यपी आईतबार राती मतगणनामा विवाद भएपछि अन्तिम मत परिणाम आउन बाँकी छ ।