उफ ! कहिले सकिएला मतगणना


उफ ! कहिले सकिएला मतगणना

नेपालगन्ज १ जेठ : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले जेठ ५ गतेभित्र मतगणना सक्ने उद्देश्य राखेको भए त्यस्तो सम्भावना कम देखिन्छ । जेठ १ गते साँझसम्मको अद्यावधिक मतपरिणामलाई आधार मान्ने हो भने मतगणना एकदमै सुस्त रहेको देखिन्छ । यसले आम मतदाताले पूर्ण नतिजा प्राप्त गर्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।

मतगणना ढिला हुनुमा मुख्यतः राजनीतिक दलको असहयोग र पर्याप्त जनशक्तिको अभाव नै कारण देखिन्छ । जसले गर्दा बाँकेमा मतगणना सुस्त गतिमा अगाडि बढेको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा भइरहेको नेपालगन्ज उपमहानगरपालिकाको गणना अझ अस्तव्यस्त छ । एउटा वडाको तीन हजार मत गन्न दुई दिन लगाइएको छ ।

मत गन्न ढिला गरेको निर्वाचन मण्डलले समयमा सूचनासमेत दिन सकेको छैन । सबैको चर्को दबाबपछि माइकसम्म व्यवस्थापन गरेको नेपालगन्जमा आवाज नै बुझिँदैन । पत्रकारलाई समेत समयमा नतिजा दिने गरिएको छैन ।

कम्प्युटरमा अनुभव नभएका व्यक्तिलाई राख्दा सूचना दिन ढिलाइ भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले बिहान कर्मचारी थपेर मतगणनाको रफ्तार बढाउने बताए पनि दु्रतगतिमा गणना हुन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरी प्राविधिक शिक्षालयको बाहिर ठूलो भीड लागेको छ । भीडले समयमा सूचना पाइरहेको छैन । भित्रबाट आएका एजेन्टले ल्याएको सूचनामा रमाइरहेका छन् । भित्र तीन ठाउँमा गणना भइरहेको छ । त्यहीबाट पनि सूचना लिन गाह्रो भएको छ ।

नेपालगन्जमा मात्र होइन बाँकेका अन्य पालिकाको गणनामा पनि ढिलाइ भइरहेको छ । तर, नेपालगन्जबाहेक अन्य पालिकाले सूचना व्यवस्थितरुपमा समयमै दिइरहेका छन् । नरैनापुर र बैजनाथमा विवादका कारण मतगणना रोकिएको छ । नरैनापुर र बैजनाथमा कर्मचारीले बदमासी गरेको आरोप लागेपछि मतगणना रोकिएको हो ।