पद सम्हालेकै दिन एक्सनमा उत्रिए नवनिर्वाचित मेयर प्रशान्त


पद सम्हालेकै दिन एक्सनमा उत्रिए नवनिर्वाचित मेयर प्रशान्त

नेपालगन्ज ८ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उप प्रमुख कमरुद्दिन राईले पदभार ग्रहण गरेका छन् । गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राई निर्वाचित भएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा आईतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश खडानन्द तिवारीले नवनिर्वाचित नगर प्रमुख विष्टलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए, भने नगर प्रमुख विष्टले उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यलाई सामुहिक रुपमा सपथ गराए ।

सपथ खुवाए लगत्तै विष्ट र राईले पदभार ग्रहण गरेका हुन् । निवर्तमान नगर प्रमुख डाक्टर धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गरेकी थिइन ।

पदभार लगत्तै नगर प्रमुख विष्टले उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री र जेष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, जेष्ठ नागरिकलाई समाजिक भत्ता लिन घण्टौ लाईन बस्नु पर्ने कुरालाई सहज तरिकाले वडा कार्यालयबाटै बैकिंग प्रतिनिधीमार्फत उपलब्ध गराउने, भेरी अस्पतालमा बिरामीहरूको लागी सहज तरिकाले खानाको ब्यवस्थापन गरिरहेको अंजनी माता रसोई लाई प्रति महिना एक लाख दिने लगायत महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका लागि आयोजित शुभकामना कार्यक्रममा प्रमुख अतिथी एवम बाँके क्षेत्र नम्बर –२ का प्रतिनिधी सभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारी, जिल्ला न्यायाधीश तिवारी, नवनिर्वाचित नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, राप्रपाका महामन्त्री एवम निर्वतमान नगर प्रमुख डाक्टर राणा, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा माओवादी केन्द्रका नेता अकलबहादुर बम, एमालेका नेपालगन्ज नगर अध्यक्ष दत्तप्रसाद आचार्य, जनता समाजवादी पार्टी (जसपा)का नगर अध्यक्ष सर्वनकुमार यादव, नेकपा (एकिकृत समाजवादी)की प्रतिनिधि करिस्मा योगी, राजमोका कृष्णराज पाण्डे लगायतले बोलेका थिए ।

सो क्रममा निवर्तमान नगर उपप्रमुख थापाले स्वागत र नवनिर्वाचित नगर उप–प्रमुख राईले धन्यबाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।