स्थानीय तह निर्वाचन २०७९

जस्ले भित्र भित्रै अन्तरघात गरे, तिनको पहिचान गरी कारबाही गरिनेछ : केन्द्रिय सदस्य बाल्मिकी


जस्ले भित्र भित्रै अन्तरघात गरे, तिनको पहिचान गरी कारबाही गरिनेछ : केन्द्रिय सदस्य बाल्मिकी

नेपालगन्ज ९ जेठः नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिएका छन् ।

संविधान सभाका सदस्य समेत रहेका केन्द्रिय सदस्य बाल्मिकीले नवनिर्वाचित जनप्रतिनिधीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन् । काँग्रेसले बाँकेका कुल ८ वटा स्थानीय तहमध्ये ५ वटामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ, भने गठबन्धनका तर्फबाट एउटामा प्रमुख र अर्कोमा उपप्रमुख पाउन सफल भएको छ ।

पार्टी र गठबन्धनका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधीलाई शुभकामना दिदै उनले जनताको भावना अनुसार काम गर्न अनुरोध गरेका छन् । ‘जनताले काँग्रेस पार्टी र गठबन्धनलाई गरेको अपार माया र मूल्य मतको कदर गर्दै पाँच वर्षसम्म जनताको सच्चा सेवक भएर काम गर्नु हुनेछ भन्नेमा मलाई विश्वास छ,’ उनले भने । जनताको काम गर्दा समान ब्यवहार गर्नुपर्ने केन्द्रिय सदस्य बाल्मिकीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारु, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादव तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्ललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रिय सदस्य बाल्मिकीले हालै सम्पन्न निर्वाचनको पार्टीले छिट्टै समिक्षा गर्ने बताए । निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन खुलेरै लागेका र अन्तरघात गरेका ब्यक्तिको पहिचान गरी पार्टीले कारबाही गर्ने उनको भनाई छ ।

‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जो जसले खुलेरै हराए, जस्ले भित्र भित्रै अन्तरघात गरे, तिनको पहिचान गरी पार्टीले कारबाही गर्नेछ,’ बाल्मिकीले भने ।