नेपालगन्ज ९ जेठ : लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात वटामा जिल्ला समन्वय समिति (जिसस) बनाउन एकल दलको बहुमत पुग्ने भएको छ । बाँकी पाँच जिल्लामा भने दलहरूले गठबन्धन गरेर वा सहमतिमा मात्र जिसस बनाउन सक्छन् ।
काँग्रेसले सबैभन्दा धेरै तीन जिल्लामा बहुमत कायम गरेको छ । एमाले र माओवादी केन्द्रले दुई–दुई जिल्लामा बहुमत हासिल गरेका छन् ।
प्रदेशका १०९ पालिकामध्ये अझैँ चार पालिकाको स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छैन । मतगणना जारी रहेका पालिकामा रुपन्देहीको कोटहीमाई गाउँपालिका र तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका तथा दाङको तुलसीपुर उपमहानगरपालिका छन् ।
पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा जिसस गठनको रस्साकस्सी सुरु भएको छ । जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ । जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बसिसक्नु पर्छ । उक्त सभाले जिसस गठन गर्छ ।
जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढिमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने छ ।
पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । यसको आधारमा लुम्बिनी प्रदेशका १२ जिल्लामा पार्टीहरूले जिसस प्रमुखमा आफ्नो एकल वा गठबन्धन गरेर पद बाँडफाड गर्न सक्छन् । तर, काँग्रेसको १२ मतसहित स्पष्ट बहुमत रहेकोले बाँकेमा जिसस काँग्रेसले एकल रुपमा गठन गर्न सक्नेछ ।
यस्तो छ बाँकेमा काँग्रेसको मतभार
बाँकेको कुल मतभार १६
काँग्रेस– ६ प्रमुख र ६ उपप्रमुख*
जसपा– १ प्रमुख र २ उपप्रमुख
माआवादी केन्द्र– १ प्रमुख
*यसअघि काँग्रेस– ६ प्रमुख र ६ उपप्रमुख हुनुपर्नेमा सच्चाइएकोछ । -सं