नेपालगन्ज २४ जेठ : जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ ।
जेठ २७ गते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाईस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने छ ।
मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार जिसस बाँकेको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । उनका अनुसार निर्वाचन कार्यतालिका अनुसार गत जेठ २३ गते मतदाता नामावली प्रकाशन समेत गरिएकोछ ।
निर्वाचनका लागि बाँकेमा रहेका आठवटै स्थानीय तहका प्रमुख तथा उप–प्रमुखसहित १६ जनाको मतदाता नामावली प्रकाशन गरिएको हो । आज (मंगलबार) भने अन्तिम नामावली प्रकाशन गरिएकोछ ।
जेठ २५ गते(भोली) विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत तिवारीले जानकारी दिए । साथै २६ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र २७ गते निर्वाचन हुनेछ ।
जिल्ला समन्वय समितिमा काँग्रेसको एकल बहुमत छ । काँग्रेसका १२ जना मतदाता छन् । स्पष्ट बहुमत भएको काँग्रेसले एकलौटीरुपमा समिति तयार पार्न सक्ने समेत चर्चामा रहेकोछ । यद्यपी स्थानीय चुनाव र कार्यपालिका चुनावमा गठबन्धन गरेको काँग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुंगो अझै लागेकोछैन ।
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन ०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।
अन्य तीन जना सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उम्मेदवार भएर आउँछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।
जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुन्छन् ।