नेपालगन्ज २५ जेठ : जिल्ला समन्वय समिति बाँकेको उप–प्रमुखमा नेपाली काँग्रेसकी नेतृ सीता कार्की निर्विरोध निर्वाचित भएकी छन् । उप–प्रमुख पदमा कार्कीको एकल उम्मेदवारी दर्ता भएपछि निर्विरोध निर्वाचित भएकी हुन् । समन्वय समिति निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार समन्वय समितिको उप–प्रमुखमा कार्कीसहित सदस्य (खुल्ला) मा नेपाली काँग्रेसकै उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध भएका उम्मेदवारलाई निर्वाचित घोषणा भने गरेको छैन । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले निर्वाचन प्रक्रिया बाँकी नै रहेकाले घोषणा नगरिएको बताए । ‘उहाँहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ,’ उनले भने ।
२०७४ सालमा पनि जिल्ला समन्वय समिति बाँकेको उपप्रमुख पद काँग्रेसले नै जितेको थियो । उप–प्रमुख पदमा निर्वाचित हुने निश्चित भएपछि प्रतिक्रिया दिदै नेतृ कार्कीले नियम÷कानून अनुसार जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर काम गर्ने बताएकी थिइन् ।
यसैबीच, जिल्ला समन्वय समिति बाँकेको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख पदमा सिता कार्कीले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
समन्वय समितिका लागि यसपटक नेपाली काँग्रेसको एकल बहुमत रहेको छ । बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । यि मध्ये काँग्रेसले कोहलपुर नगरपालिका तथा राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।
यस्तै नेपालगन्जमा काँग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको निर्वाचनका लागि यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान तोकेको छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन् । यि मध्ये १२ जना मतदाता नेपाली काँग्रेसका छन् ।