नेपालगन्ज २८ जेठ : नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा लागेको ताला खुल्ने भएको छ । असन्तुष्ट पक्षसंग आज भएको वार्तामा ताला खोल्ने सहमति भएको हो ।
जिल्ला सचिव सुधांशु कोइरालाले असन्तुष्ट पक्षले भोली ताला खोल्ने सहमति जनाएको बताए । ‘आज हामी दुबै पक्ष वार्तामा बस्यौं, केन्द्रले गर्ने निर्णयलाई दुबै पक्षले मान्ने गरी सहमति जुटेको छ,’ सचिव कोइरालाले भने, ‘भोली विहान उहाँहरुले (असन्तुष्ट पक्ष) ताला खोल्नुहुन्छ ।’
केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितिमा दुबै पक्षका नेताहरु बसेर निकास निकाल्न सहमत भएका हुन् । जिल्ला कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु काँग्रेस केन्द्रिय कार्यालयमा विचाराधीन रहेकाले यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुवै पक्ष सहमत हुने गरी निकास निकालिएको कोइरालाले बताए ।
पार्टी कार्यालयलाई विधान बमोजिम नियमितरुपमा सञ्चालन गर्नका लागि पार्टी कार्यालय नियमितरुपमा सञ्चालन हुन आवश्यक रहेको महसुस गर्दै पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने सहमति बनेको हो ।
आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धती बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत भई पार्टी कार्यालयमा लगाइको ताला खोल्न असन्तुष्ट पक्ष सहमत भएको हो । असन्तुष्ट पक्षले विधि विधान विपरीत जिल्ला कार्यसमितिले विभिन्न मनोनयन गरेको दाबी गर्दै जेठ १८ गते तालावन्दी गरेको थियो ।
सहमतिपत्रमा केन्द्रिय सदस्य बाल्मिकीको उपस्थितिमा प्रथम पक्षबाट जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव कोइराला र क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सभापति पोषण केसी तथा असन्तुष्ट पक्षबाट महासमिति सदस्य बादशाह कुर्मी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, महासमिति सदस्य फुलाराम थारु, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा र जिल्ला सदस्य अशोक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।