नेपालगन्ज ३१ जेठ : नेपाली काँग्रेसकी केन्द्रिय सदस्य शान्ति परियारले राजनीतिक दलहरुको भविष्य जनताको मन जित्न सके मात्र सुनिश्चित हुने बताएकी छिन् ।
नेपाली काँग्रेस बाँकेले सोमबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य परियारले यस्तो बताएकी हुन् । उनले जनताको भावना अनुसार अघि बढ्न नसके चुनावमा प्राप्त मताधिकारको दुरुपयोग हुने र जनताले सवक सिकाइदिने हुँदा जनताको सुख दुःखमा संगसंगै हिँड्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।
परियारले काँग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गर्दै अघि बढ्न निर्देशन दिँदै स्थानीय चुनावमा काँग्रेसले बाँकेमा हाँसिल गरेको सफलताको उच्च प्रशंसा गरिन् ।
केन्द्रिय सदस्य परियारले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि काँग्रेसलाई जिताउने गरी दत्तचित्त भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरिन् । उनले एक आपसको मनमुटाव र तिक्ततालाई त्यागेर बलियो र एकिकृत काँग्रेस बनाउनतर्फ लाग्न आग्रह गरिन् ।
नेपाली काँग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभापति कृष्णमान श्रेष्ठ, पूर्व उपसभापति फूलाराम थारु, पूर्व सचिव कपीलदेव शर्मा, महासमिति सदस्य माया पुन, क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल लगायले आफ्ना धारणा राखेका थिए ।
उपसभापति कृष्णबहादुर कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको पार्टि सचिव सुधांशु कोइरालाले सञ्चालन गरेका थिए ।