काँग्रेस: विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको हो ?


काँग्रेस: विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको हो ?

काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसले नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगितबारे आधिकारिक धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैह्र जिम्मेवारी भएको बताएका छन् । उनले भनेका छन्, निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैरजिम्मेवारी हो । विषादी परीक्षणबाट सरकार पछि हटेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।’

काँग्रेसले नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा कडा परीक्षण र नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारले भारतबाट आयात हुने विषादीयुक्त तरकारी तथा फलफुललाई सहजरुपमा आउन निर्देशन दिएपछि यतिखेर सामाजिक सञ्जालमा निकै ठूलो बहस र चर्चा चलेकोछ । सामाजिक सञ्जालमा आम उपभोक्तादेखि सत्तारुढ नेकपा सांसदहरुले समेत सरकारको चर्को आलोचना गरिरहेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामु सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् । ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन ? यसलाई मैले आश्चर्यका रुपमा लिएको छु’ बैठकपछि नेता रावलले भने ।

बैठकपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया समेत दिए । सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले भने, ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन । हामी विश्वस्त हुनुपर्यो कि नेपाली जनताले विषादी मिसिएका शरीरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन् ।’

आफ्नै पार्टीका नेताबाट आएको टिप्पणीप्रती आफ्नो बचाउ गर्दै प्रधानमन्त्री ओलीले भने कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिनु परेको हो । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ, छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’

सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । काठमाडौंस्थित भारतीय दूताबासले लिखित पत्र नै लेखेर सरकारी निर्णयको विरोध गरेको थियो । भारतले विरोध गरे लगतै सरकारले तयारी नपुगेको भन्दै नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

प्रमुख विपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको यस्तो छ ।

उनले जारी गरेको विज्ञप्तीः

विषादी परिक्षणमा के विर्सजित भएको हो,

सरकारको राष्ट्रवादी चरित्र ?
१. नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

२. नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली काँग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ ।

३. काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ ।

४. विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?

५. नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली काँग्रेस विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता