अदालतको आदेशमा काँग्रेस कार्यकर्ता रिहा


अदालतको आदेशमा काँग्रेस कार्यकर्ता रिहा

नेपालगन्ज: ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका नेपाली काँग्रेस बाँकेका ५ जना कार्यकर्तालाई आज अदालतबाट रिहा गरिएकोछ। डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा उनीहरुलाई पक्राउ गरेको थियो ।

ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका डुडुवा गाउँपालिकाका का“ग्रेस कार्यकर्ताहरु सलिम खाँ, हसिब खाँ, रामकुमार यादव, गणेश यादब र दिनेश यादब जिल्ला अदालत बाँकेबाट रिहा भएका हुन् ।

अदालतको आदेशमा उनीहरुलाई रिहा गरिएको हो । काँग्रेस कार्यकर्ता सलिम खाँ र हसिब खाँलाई साधारण तारेखमा रिहा गरिएको छ । भने रामकुमार यादव, गणेश यादव र दिनेश यादवलाई १०–१० हजार धरौटीमा रिहा गरिएको हो ।

आफ्ना कार्यकर्ता अदालतको आदेशमा रिहा भएपछि नेपाली काँग्रेस बाँकेले बुधबार अपरान्ह पार्टी कार्यालयमा एक कार्यक्रम गरी उनीहरुलाई स्वागत समेत गरेको छ । सो अवसरमा पार्टी सभापति किरण कोइरलाले प्रहरीले सत्ताको आडमा आफ्ना कार्यकर्तालाई फसाउन खोजेपनि अदालतले न्याय दिएको बताइन ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भनिन्–‘नेपाली काँग्रेसका कार्यकर्तालाई प्रहरीले फसाउन खोजे पनि अदालतको फैसलाले हामीलाई खुसी बनाएको छ, अदालतको निर्णयको हामी स्वागत गर्दछौं ।’
अदालतको आदेशबाट छुटेका काँग्रेस कार्यकर्तालाई अनाहकमा फसाइएको पुष्टि भएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ मा असार १२ गते भएको घटनामा समाजवादी पार्टीबाट निर्वाचित वडा नम्बर ४ का वडा अध्यक्ष सगिर खाँ नेतृत्वको एक समूहले काँग्रेस कार्यकर्तालाई घरमै पुगेर कुटपिट गरेपनि सत्तारुढ समाजबादी पार्टीका मन्त्रीको दबाबमा प्रहरीले उनीहरुलाई पक्रेको थियो ।

आफ्ना निर्दोष कार्यकर्तालाई अनाहकमा पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा चलाएको भन्दै नेपाली काँग्रेस बाँके आन्दोलन गर्दै आएको थियो । त्यस घटनामा संलग्न सार्वजनिक मुद्दा लगाइएका समाजबादी पार्टीका ४ जना कार्यकर्ता भने हिजै जिल्ला प्रशासन कार्यालयबाट २–२ हजार धरौटीमा रिहा भइसकेका छन् ।