बाटिकाका कर्मचारीद्वारा पत्रकारमाथि आक्रमण

दुई जना पक्राउ, तीन पत्रकार घाईते, दोषीलाई कारबाहीको माग


बाटिकाका कर्मचारीद्वारा पत्रकारमाथि आक्रमण

नेपालगन्ज : समाचार संकलनका लागि गएका पत्रकारमाथि बाटिका होटलका कर्मचारीले आक्रमण गरेकाछन् । भारतीय सेना भर्तीका क्रममा भएको आर्थिक चलखेलका विषयमा समाचार संकलन गर्न पुगेका एभिन्यूज टेलिभिजनका पत्रकारमाथी बाटिका होटलका कर्मचारीले आक्रण गरेका हुन् ।

आक्रमणबाट एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, संवाददाता भीम पौडेल र क्यामेरा पर्सन जागेश्वर चौधरी घाईते भएकाछन् । बुधबार दिउँसो उनीहरुलाई बाटिका होटलका कर्मचारीले होटल परिसरमै अपमानित गर्दै कुटपिट गरेका हुन् ।

एक महिना अघी भएको भारतीय सेनामा भर्ती हुने युवाहरुको ठगी काण्डको विषयमा समाचार संकलन गर्न होटल बाटिका पुगेका ब्युरो प्रमुख रोकाय सहितको टिमलाई पिटिसी लिने क्रममा क्यामेरा खोसी तथानाम गालीगलौज संगै आक्रमण र कुटपिट समेत गरिएको हो ।

होटलका कर्मचारीले पत्रकारमाथि आक्रमण गर्दा एभिन्यूज टेलिभिजनको क्यामेरा र पत्रकार रोकायले बोकेको मोवाईलमा क्षती पुगेकोछ । घटनापछि सेतोखरीसंग बोल्दै एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकायले भने–‘समाचारका लागि पिटिसी खिचिरहेकाबेला होटलका कर्मचारीहरु एक्कासी आएर फुटेज डिलिट गर भन्दै अभ्रद व्यवहार गरे ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले अघि थपे–‘हामीले फुटेज डिलिट गर्दैनौ किन अपशब्द बोल्नुहुन्छ भन्दा एक्कासी आक्रमण गर्दै जाइलागे । भीमको क्यामेरा खोस्ने प्रयास गरेका उनीहरु असफल भएपछि जागेश्वरमाथि जाइलागे । उनी त्यहाँबाट भागेर सुरक्षित भएको रोकायले बताए ।’

रोकायले भने–‘बाटिका होटलका कर्मचारीले आक्रमण गर्दा शरीर र टाउकोमा चोट लागेको छ । भित्री चोट कता छ थाहा छैन । टाउको दुखिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट फर्किदाँ टाउको रन्क्यो अनि थाहा पाए ।’

बाटिका होटलका कर्मचारीले गरेको अभ्रद व्यवहार र आक्रमणका विरुद्ध बोल्दै ब्यूरो प्रमुख रोकायले भने –‘अझैपनि प्रेस के हो भन्ने कुरा नबुझेको पाए । ममाथि उनीहरुले आक्रमण गर्ने उनीहरुको नियत के हो ? के कति कारणले आक्रमण गरे त्यो थाहा छैन ।’

अनुशासन हिन बाटिका होटलका कर्मचारीले घटनापछि पुगेका पत्रकारहरुमाथि समेत अभद्र व्यवहार गर्दै जाइलागे । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटल कर्मचारीलाई नियन्त्रणमा लिइएको बताएकाछन् ।

उनले घटनामा संलग्न एबिसी टुर एण्ड ट्राभल्स काठमाण्डौका सञ्चालक ईश्वर भनिने भुवन खड्का र होटल बाटिकाका म्यानेजर प्रकाश ढकाललाई नियन्त्रणमा लिएको बताए ।

समाचार संकल गर्न गएका पत्रकारहरुमाथी यसरी एक्कासी आक्रमण गरि सञ्चार सामाग्री समेत तोडफोड भएको घटना बाहिरीएसगैं सर्वत्र विरोध गरिएकोछ ।

यसैबीच, नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरिनुपर्ने माग गरेकोछ । पत्रकारमाथिको आक्रमणले सिंगो प्रेस जगतमाथीको आक्रमण भएको ठहर गर्दै महासंघले घोर विरोध गरेको हो ।

बुधबार नै प्रेस विज्ञप्ती जारी गर्दै महासंघले होटल बाटिकामा भएको घटनाले बाँकेमा पत्रकारहरु त्रसित भएको जनाएकोछ । महासंघ सचिव तिलक गाँउलेद्वारा जारी विज्ञप्तीमा घटनाको सत्यतथ्य बुझि पीडकलाई कडा कारबाही गर्दै तोडफोड भएका सञ्चार उपकरणको क्षतीपूर्ती र निर्वाध रुपमा समाचार संकलनको वातावरणका लागि समेत माग गरेकोछ ।

भारतीय सेनामा भर्ती गराईदिने भन्दै ठगी गरिरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय बाँकेले बाटिका होटलबाट ३८ लाख नगद सहित ५ जना पूर्व भारतीय सेना र २ सर्वसाधरण महिलालाई यसअघि नियन्त्रणमा लिएको थियो ।

सोही समाचारको पिटिसी लिने क्रममा होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई कुटपिट गर्दै क्यामरा खोसेका थिए । उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए ।