ईस्तियाकलाई हराउन उनकै पिए जसपाबाट विद्रोही उम्मेदवार

समसुल भन्छन् –‘म बलियो छु, चुनाव जित्छु’, बाबु खाँले पनि धोका दिए इस्तियाकलाई


ईस्तियाकलाई हराउन उनकै पिए जसपाबाट विद्रोही उम्मेदवार

नेपालगन्ज २६ असोज : बाँके क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका जसपा बाँकेका नेता समसुल हक राईले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका जसपाका नेता मोहम्मद इश्तियाक राई विरुद्ध चुनावी मैदानमा उत्रिएका समसुलले आफ्नो उम्मेदवारी फिर्ता नलिएका हुन् ।

उनको उद्देश्य आफूले जित्ने भन्दा पनि इस्तियाक राईलाई हराउनु रहेको देखिन्छ । किनकी इस्तियाक र पार्टीले आफ्ना पिएलाई दमन र सम्मानजनक ब्यवहार नगरेको उनको आरोपछ । समसुलले जसपा भित्र आफ्नो पनि हैसियत रहेको दावि गर्दै आएकाछन् ।

टिकट वितरणको विषयलाई लिएर जसपा बाँकेमा उत्पन्न विवादका कारण मन्त्री राई विरुद्ध चुनावी मैदानमा उत्रिएका समसुलको उम्मेदवारी फिर्ता नभएपछि राईलाई चुनाव जित्न सकस भएको छ ।

एक दशक मन्त्री इस्तियाकको स्वकीय सचिव(पिए) समेत भइसकेका समसुलको उम्मेदवारी फिर्ता नभएसंगै ‘शक्ति, सत्ता र पैसाको’ आडमा पटक–पटक उम्मेदवारी दिदैँ आएका बाँके क्षेत्र नम्बर–२ बाट लगातार दुईपटक संघीय सांसद भएका बहालवाला मन्त्री इस्तियाकको ‘ह्याट्रीक’ मार्ने सपनामाथि प्रश्न चिन्ह खडा भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि पार्टी भित्रको ‘गुट–उपगुट’ का कारण चेपिएको द्वन्द्व बाहिर आएपछि मन्त्री इस्तियाकको ‘रजगज’ छताछुल्ल भएको थियो ।

‘शक्ति’को आडमा आफ्नो नाममा एकल दावि परेको भन्दै उम्मेदवारीका लागि ‘सुटुक्कै’ सिफारिस गराएका मन्त्री राईको ‘रोबरवाफ’ यतिबेला उनकै पूर्व पिए समसुलले ‘गलपासो’ बनाइदिएका छन् । मन्त्री राईको हर्कतबाट आजित र असन्तुष्ट भएका उनकै सहकर्मी तथा विश्वासका पात्र समसुलले मन्त्री इस्तियाकलाई चुनौती दिदैं उनी विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

जसपा बाँकेका सचिव समेत रहेका समसुल मन्त्री राईका भाई (काकाको छोरा) हुन् । समसुलले इस्तियाक विरुद्ध उम्मेदवारी दिएपछि उनको उम्मेदवारी फिर्ता हुनेमा धेरैजना आशाबादी थिए । तर, उम्मेदवारी फिर्ता लिने दिन असोज २६ गते बुधबार अन्तिम समयसीमामा पनि समसुलले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि जसपाभित्र ‘पहिरो’ गएकोछ ।

समसुलले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि यतिबेला बाँकेको क्षेत्र नम्बर–२ मा चुनावी प्रतिस्प्रर्धा रोमाञ्चित हुने भएकोछ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार समसुलले १ नम्बरमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । यसबाट प्रष्ट हुन्छ की मन्त्री राईलाई आफ्नै परिवार र आफन्तले नै साथ छाडेका छन् ।

पार्टीभित्रको द्वन्द्व र मन्त्री इस्तियाकको ‘रोबरवाफ’ र ‘रजगज’बाट आजित बनेका समसुलले पटक–पटक खुलेरै मन्त्री इस्तियाकलाई चुनौती दिदैँ आएका छन् । खुल्ला चुनौती दिदैं मन्त्री इस्तियाक विरुद्ध चुनावी मैदानमा उत्रिने बताइरहेका समसुलले आफ्नो पूर्वतः प्रतिबद्धताअनुरुप उम्मेदवारी दर्ता गरि चुनावी मैदानमा होमिएकाछन् ।

मन्त्री इस्तियाक विरुद्ध उम्मेदवारी दिएका समसुललाई जिल्लादेखि केन्द्रसम्मका नेताले उम्मेदवारी फिर्ता गर्न दवाव दिएको तर, आफू आफ्नो प्रतिबद्धतामा अटल भएकोले उम्मेदवारी फिर्ता नलिएको सेतोखरीलाई जानकारी दिए ।

समसुलले सेतोखीसँग भने –‘बाँके क्षेत्र नम्बर २ मा जसपाबाट बलियो उम्मेदवार म नै हुँ । इस्तियाक राई मन्त्री भएपनि तल्लो तहमा बसेर जनताको काम मैले पो हो गरेको ।’ उनले बुधबार नै चुनाव चिन्ह प्राप्त गरेकाछन् । समसुलको चुनाव चिन्ह ‘ह्याण्डपम्प’ (चापाकल) रहेकोछ ।

मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका समसुलले इस्तियाकलाई पटक–पटक सांसददेखि मन्त्रीसम्म बनाउन खेलेको भूमिका, त्याग र इमान्दारितालाई नबिर्सिन उनले आग्रह गरेकाछन् ।
समसुलले इस्तियाकको सफलतामा आफ्नो ठूलो साथ र सहयोग रहेको भन्दै आफ्नो परिश्रम, मेहनतको मूल्यांक गर्दै यसपटक निर्वाचनमा होमिने भन्दै आकांक्षा ब्यक्त गर्दै आएका थिए ।

‘मेरो उम्मेदवारीले उनीहरु ससंकित भएकाछन् । म आफैमा बलियो मान्छे हुँ । जनतासँग राम्रो पकड भएको ब्यक्ति हुँ ।’ राजनीतिक सिण्डिकेट, भ्रष्टाचारीको सफाई गर्न निर्वाचनमा होमिएको बताउँदै समसुलले भने–‘सबै ‘टेस्टेड’ उम्मेदवार हुन् । म काम गरेर आएको मान्छे हुँ । जनताले मलाई भोट दिन्छन् र म जित्छु ।’

‘वर्षौं काम गरेका ब्यक्तिलाई पाखा लगाउने, पार्टी प्रवेश गरेको दिन नै टिकट दिने पार्टी भित्रको यो प्रवृत्तिले म जस्ता इमान्दार ब्यक्तिमाथि अन्याय भयो’ समसुलले अगाडी थपे –‘पार्टीले आफूलाई टिकट नदिएर घुमाउरो रुपमा कारबाही गरेकै कारण मन्त्री इस्तियाक विरुद्ध उम्मेदवारी दिए ।’

‘कसैलाई दुईदुई पटक मन्त्री दिने, कसैलाई वास्ता नगर्ने यो तानाशाहि प्रबृद्धि भएको हुँदा पार्टीमा योगदान गरेका नेताहरुलाई पाखा लगाउने काम मात्र भयो’ मन्त्री इस्तियाकप्रति प्रहार गर्दै समसुलले भने–‘सधैं म मात्रै सांसद, मन्त्री बनिरहन्छु भन्नु त ‘ठेकेदारी’ प्रथा हो । पार्टी भित्र ठेकेदारी चल्दैन यसको आफ्नो मूल्यमान्यता र सिद्धान्त छ ।’

इस्तियाक, समसुल र कमरुद्दिन राई मधेश आन्दोलनसंगै बाँकेको राजनीतिक बृत्तमा उदाएका अनुहार हुन् । यीमध्ये इस्तियाक दुई पटक सांसद र तीन पटक मन्त्री र कमरुद्दिन राई जसपा बाँकेका अध्यक्ष हाल नेपालगन्जका उपमयेर हुन् भने समसुल जसपाको प्रदेश सदस्य छन् ।

मन्त्री इस्तियाकको पूर्व स्वकीय सचिव समेत रहेका समसुल गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकाको अध्यक्ष पदका आकांक्षि भएपनि मन्त्री इस्तियाकले अरुलाई टिकट दिएको उनी बताउँछन् ।
यअसघि सेतोखरीसंग विशेष कुराकानी गर्दै समसुलले कुनैपनि बहानामा आफ्नो दावि र उम्मेदवारीबाट पछि नहट्ने बताउँदै मन्त्री इस्तियाक भन्दा आफू कमजोर नभएको दावि गर्दै आएका थिए ।

पार्टीभित्र अवसरको कमी भएको बताउँदै समसुलले भने– ‘म पनि मन्त्री संगसगैं काम गरेको मान्छे हो । मेरो पनि योगदान र लगानी छ । क्षमता देखाउन अवसर नपाएर न हो । म मन्त्री(इस्तियाक) भन्दा कमजोर छैन ।’
उनले सेतोखरीसंगको विशेष कुराकानीमा भनेका थिए–‘म मन्त्रीजीलाई सुझाव दिन चाहान्छु । लड्नै परे अन्य क्षेत्रबाट लड्नुहोस् । लाज मान्नुहोस यो क्षेत्र छाड्नुस् । २ चोटी सांसद र तीन चोटी मन्त्री भइसक्नु भयो । अब अरुलाई चान्स दिनुहोस् ।’

यस्तै जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि बिद्रोह गरेर मन्त्री राई विरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले बिद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए ।

जसपाका सचिव समसुल र केन्द्रिय सदस्य खाँले संघीय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक–पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए । राईका कारण आफुहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको भनाई छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा समेत आफुहरुलाई थाहा नदिइएको उनीहरु गुनासो गर्छन् ।

केन्द्रिय सदस्य खाँले पार्टीमा रहेर आफुले उम्मेदवारी दर्ता गराउन खोज्दा हातपात भएको आरोप समेत लगाएका छन् । उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए ।
नेपाली काँग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए । राईलाई २०७४ मा जस्तो अहिले सहज छैन ।

यस्तो छ क्षेत्र नम्बर २ मा दलगत मत :

स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली काँग्रेस देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् ।

क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र काँग्रेसले एउटा वडा जितेको थियो । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा काँग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ ।
यस्तै तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ । प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी काँग्रेसको १८ हजार ३७ मत रहेको छ ।

यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । नेकपा (माओवादी केन्द्र)को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।

थप समाचार

चुनाव लड्न मन्त्री राईलाई असहज, आफ्नै भाई समशुलले दिदैँ टक्कर

कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

मोहम्मद इस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त गरिदैँ

एमाले र जसपाबीच सहमती : बाँकेमा एमालेको साथ धवललाई