एमाले र जसपाबीच सहमती : बाँकेमा एमालेको साथ धवललाई


एमाले र जसपाबीच सहमती : बाँकेमा एमालेको साथ धवललाई

नेपालगन्ज २२ असोजः नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।

मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । एक नेताका अनुसार यस क्षेत्रमा मित्रबत प्रतिस्पर्धा हुनेछ ।

योसंगै सत्ता गठबन्धन फुटाउन सफल भएको नेकपा एमालेले बाँकेमा जनता समाजवादी पार्टीसँग गठबन्धन नगर्ने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके क्षेत्र नम्बर–२ मा जसपाका भौतिक पुर्वाधार मन्त्री इस्तियाक राईले एमालेको समर्थन नपाउने भएका हुन् । सो क्षेत्रमा एमालेले राप्रपाका महामन्त्री धवल शम्सेर जबरालाई समर्थन जनाउने भएको छ ।
एमाले र जसपाबीचको उक्त सहमतिमा प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’

यसैबीच, राप्रपासँग पनि एमालेको आंशिक तालमेलमात्र हुने र बाँकी क्षेत्रमा एक्ला एक्लै लड्ने भएका छन् । एमालेले राजेन्द्र लिङ्देन, दिपक बोहोरा र धवल शम्सेर जबरालाई मात्र छाड्ने अहिलेसम्म सहमति भएको राप्रपाका एक नेताले बताए ।

दुवै दलबीच तालमेल भएका ठाउँमा एकले अर्कोलाई सघाउँने र बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति पत्र यस्तो छ ।