मोहम्मद इस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त गरिदैँ


मोहम्मद इस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त गरिदैँ

नेपालगन्ज २५ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले विपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले ती मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

सरकारमा जसपाका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादव, वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई छन् । राई बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत हुन् ।

जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ ।

Kids Festival 2022
kanti aarogya hospital

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

स्रोतका अनुसार केही दिनअघि नै प्रधानमन्त्रीले उनीहरूलाई पदबाट बर्खास्त गर्ने तयारी गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्थाका कारण रोकिएको हो ।

स्रोतका अनुसार जसपाका यी मन्त्रीलाई राजीनामा दिन भनिएको छ । राजीनामा नदिएका कारण प्रधानमन्त्री देउवाले उनीहरूलाई बर्खास्त गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् निस्तेज पारिदिएको थियो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।