चुनाव लड्न मन्त्री राईलाई असहज, आफ्नै भाई समशुलले दिदैँ टक्कर

जसपाका केन्द्रिय सदस्य बाबुको बिद्रोह, मन्त्री राई विरुद्ध उम्मेदवारी


चुनाव लड्न मन्त्री राईलाई असहज, आफ्नै भाई समशुलले दिदैँ टक्कर

नेपालगन्ज २५ असोज : आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ । यो पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइराला लड्दै आएको क्षेत्र हो ।

सोही क्षेत्रबाट संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईसहित थुप्रै ब्यक्ति उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएका राई यसपटक पुनः दोहोरिने दाउमा छन् । त्यतिबेला उनलाई पार्टीभित्रबाट नेता, कार्यकर्ताको राम्रो साथ थियो । तर, यसपटक जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई आफ्नै परिवारले समेत साथ दिएका छैनन् ।

जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल हक राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार समशुलले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका थिए । यसबाट प्रष्ट हुन्छ की मन्त्री राईलाई आफ्नै परिवार र आफन्तले नै साथ छाडेका छन् ।

यस्तै जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि बिद्रोह गरेर मन्त्री राई विरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले बिद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए ।

Kids Festival 2022
kanti aarogya hospital

जसपाका सचिव समशुल र केन्द्रिय सदस्य खाँले संघीय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक–पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए । राईका कारण आफुहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको भनाई छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा समेत आफुहरुलाई थाहा नदिइएको उनीहरु गुनासो गर्छन् ।

केन्द्रिय सदस्य खाँले पार्टीमा रहेर आफुले उम्मेदवारी दर्ता गराउन खोज्दा हातपात भएको आरोप समेत लगाएका छन् । उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए । नेपाली काँग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए । राईलाई २०७४ मा जस्तो अहिले सहज छैन ।

यसपटक भने नेपाली काँग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ । काँग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ । राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ । यसका साथै हिन्दुवादी नेता दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ मा यस्तो छ, दलगत मत :

स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली काँग्रेस देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन् ।

क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र काँग्रेसले एउटा वडा जितेको थियो । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ ।
यस्तै तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ । प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ ।

यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । नेकपा (माओवादी केन्द्र)को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।

थप समाचार

कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

मोहम्मद इस्तियाक राईसहित ४ मन्त्रीलाई बर्खास्त गरिदैँ

एमाले र जसपाबीच सहमती : बाँकेमा एमालेको साथ धवललाई