कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

जसपाभित्र टिकटका लागि भाँडभैलो


कुनै पनि हालतमा म इस्तियाक राईलाई छोड्दिन : नेता समसुल हक राई

जसपा लुम्बिनी प्रदेश सदस्य समसुल हक राई । तस्विर:विजय मल्ल/ सेतोखरी

नेपालगन्ज ५ असोज : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदैँ गर्दा जनता समाजबादी पार्टी(जसपा), बाँकेमा टिकट वितरणको विषयलाई लिएर विवाद सतहमा पोखिएकोछ ।

टिकट वितरणको विषय सतहमा आएपछि यतिबेला जसपाभित्रको आन्तरिक द्वन्द्व छरपस्ट भएको हो । टिकट वितरण र पार्टी भित्रको ‘गुट–उपगुट’ का कारण चेपिएको द्वन्द्व बाहिर आएपछि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इस्तियाक राईको ‘रजगज’ छताछुल्ल भएको छ ।

बाँके क्षेत्र नम्बर–२ बाट लगातार दुईपटक संघीय सांसद भएका बहालवाला मन्त्री इस्तियाकले ‘ह्याट्रीक’ मार्ने दाउमा ‘शक्ति’को आडमा आफ्नो नाममा एकल दावि परेको भन्दै सिफारिस गराएका थिए ।

बाँके क्षेत्र नम्बर–२ बाट आफ्नो नाममा एकल दावि भएको भन्दै उम्मेदवारीका लागि ‘सुटुक्कै’ सिफारिस गराएका मन्त्री राईको ‘रोबरवाफ’ यतिबेला उनका लागि ‘गलपासो’ बन्न पुगेकोछ । मन्त्री राईको यस्तो हर्कतबाट आजित र असन्तुष्ट भएका उनकै सहकर्मी तथा विश्वासका पात्र समसुल हक राईले मन्त्री इस्तियाकलाई चुनौती दिदैं उनी विरुद्ध चुनावी मैदानमा उत्रिने घोषणा गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

टिकटकै लागि मन्त्री इस्तियाकको ‘सेटिङ्ग’मा आफुहरुलाई सूचनानै नदिएर एकलौटी रुपमा नाम सिफारिस गरिएकाले आफुले प्रदेशमार्फत केन्द्रमा आफ्नो नाम सिफारिस गराएको सेतोखरीसंगको विशेष कुराकानीमा समसुलले बताए ।

‘बैठक मै खबर नगरि नाम सिफारिस गरियो ।’ जसपाका प्रदेश सभा सदस्य समेत रहेका समसुलले भने–‘खबरै नगरेपछि कसरी थाहा पाउने । पार्टी जिल्ला सचिवलाई सोध्दा ‘मैले खबर गर्न विर्से’, यस्तो गैरजिम्मेवार जवाफ आयो । थाहा पाएपछि त उम्मेदवारीका लागि दावि गरेर प्रदेश सभा बैठकबाट आफ्नो नाम सिफारिस गरेँ ।’

मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका समसुलले इस्तियाकलाई पटक–पटक सांसददेखि मन्त्रीसम्म बनाउन खेलेको भूमिका, त्याग र इमान्दारितालाई नबिर्सिन आग्रह गरे । उनले भने ‘तपाई(इस्तियाक)को सफलतामा मेरो ठूलो साथ र सहयोग छ । मेरो परिश्रम, मेहनत सबै विर्सिरहने, अब मेरा लागि भएपनि यो क्षेत्र छोडिदिनु प¥यो ।’

‘सधैं एउटै ब्यक्तिले टिकट पाइरहने, लडिरहने अनि मन्त्री बनिरहने ? डेढ दशकदेखि पार्टीमा इमान्दारिताका साथ लागेको छु, मेरो योगदान पनि हेर्नु प¥यो, यो बीच मैलै कही कतै दावि पनि गरेन’ समसुलले अगाडी थपे–‘अब उहाँ (इस्तियाक)ले आफुलाई जीवनभर साथ दिनेहरुलाई पनि मौका दिनुपर्यो, योगदानको कदर गर्नु प¥यो ।’

‘कसैलाई दुईदुई पटक मन्त्री दिने, कसैलाई वास्ता नगर्ने यो तानाशाहि प्रबृद्धि भएको हुँदा पार्टीमा योगदान गरेका नेताहरुलाई केन्द्रका नेताहरुले चिन्न सक्नुपर्छ ।’ मन्त्री इस्तियाकप्रति प्रहार गर्दै समसुलले भने–‘सधैं म मात्रै सांसद, मन्त्री बनिरहन्छु भन्ने हुनु भएन नि ! यो त ‘ठेकेदारी’ प्रथा भयो, पार्टीको आफ्नो मूल्यमान्यता र सिद्धान्त होलानी ।’

इस्तियाक, समसुल र कमरुद्दिन राई मधेश आन्दोलनसंगै बाँकेको राजनीतिक बृत्तमा उदाएका अनुहार हुन् । यीमध्ये इस्तियाक दुई पटक सांसद र तीन पटक मन्त्री र कमरुद्दिन राई जसपा बाँकेका अध्यक्ष हाल नेपालगन्जका उपमयेर हुन् भने समसुल जसपाको प्रदेश सदस्य छन् ।

मन्त्री इस्तियाकको पूर्व स्वकीय सचिव रहेका समसुल गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जानकीगाउँपालिकाको अध्यक्ष पदका आकांक्षि भएपनि टिकट अरुलाई दिएको उनको असन्तुष्टि छ ।

पार्टीभित्र अवसरको कमी भएको बताउँदै समसुलले अवसर पाए आफू कोही भन्दा कम नभएको दावि गरे । उनले भने–‘म पनि मन्त्री संगसगैं काम गरेको मान्छे हो । मेरो पनि योगदान र लगानी छ । क्षमता देखाउन अवसर नपाएर न हो । म मन्त्री(इस्तियाक) भन्दा कमजोर छैन ।’

कुनैपनि बहानामा आफ्नो दावि र उम्मेदवारीबाट पछि नहट्ने बताउँदै समसुलले भने ‘क्षमता देखाउन अवसर नपाएर हो, म मन्त्री भन्दा कम छैन ।’

उनले अगाडी थपे–‘म मन्त्रीजीलाई सुझाव दिन चाहान्छु । लड्नै परे अन्य क्षेत्रबाट लड्नुहोस् । लाज मान्नुहोस यो क्षेत्र छाड्नुस् । २ चोटी सांसद र तीन चोटी मन्त्री भइसक्नु भयो । अब अरुलाई चान्स दिनुहोस् ।’

स्थानीय निर्वाचनमा दुई कार्यकाल भन्दा बढि पटक उम्मेदवारी दिन पाइदैन । त्यो नियम प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा लागु हुनुपर्ने समसुलको तर्क । निर्वाचन सम्बन्धि नियमका कारण पनि समस्या भएको हो ।
टिकट नपाए आफू पार्टीबाट विद्रोह नगर्ने बताउँदै समसुलले भने ‘टिकट पाउनेमा म पुरा आशाबादी छु, पार्टी अध्यक्ष र शीर्ष नेताबाट मेरो मूल्यांकन अवस्य हुन्छ ।’

थप समाचार

मन्त्री राईको चुनाव अगावै ५० करोड असुल्ने योजना यस्तो छ ?

६ ठेकेदार कम्पनीले मात्र ४० अर्ब ठेक्का पाउने गरी ‘सेटिङ’

‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

भवन उद्घाटन गर्न हनुमानगढी पुगेका मन्त्री मो. ईश्तियाक राईलाई युवाले लखेटे

ठेक्का सम्झौता नहुँदै हतारमा शिलान्यास

सडक विस्तार योजना अलपत्र : आकाशे पुल, सडक स्तरोन्नती र बत्ती जडान गर्न अलग्गै ठेक्का

सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?