नेपालगन्ज : नेकपा बाँकेको ईन्चार्जमा दिनेशचन्द्र यादव चयन भएका छन् । त्यसैगरी संघीय सांसद महेश्वर गहतराज अथकले सहईन्चार्जको जिम्मेवारी पाएका छन् ।
कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला ईन्चार्जहरूलाई जिम्मेवारी दिने सहमति गरेको छ ।
राज्यमन्त्री समेत भईसकेका यादव पूर्व एमालेको बाँके जिल्ला ईन्चार्ज हुन् भने नेकपा एकीकरण पूर्व अथक माओवादीको जिल्ला ईन्चार्ज थिए । केही दिनअघि पार्टी अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला ईन्चार्ज र सह–ईन्चार्जलाई नै जिम्मेवारी दिने सहमति गरेका हुन् ।
अहिले ईन्चार्ज र सह–ईन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको ईन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले ईन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको छ । सोही अनुसार यादव ईन्चार्ज र अथक सह–ईन्चार्ज भएको नेकपा स्रोतले जनाएको छ ।
बाँडफाँड अनुसार पूर्व एमाले ४४ जिल्लाको नेतृत्व पाएको थियो भने माओवादी केन्द्रको भागमा ३३ जिल्ला परेका थिए । बाँकेमा पूर्वमाओवादीका तर्फबाट ईन्द्रप्रसाद खरेल अध्यक्ष भएका थिए । पूर्व एमालेका तर्फबाट अशोक कोईरालाले सचिवको जिम्मेवारी पाएका थिए ।