लुम्बिनी प्रदेश सभाको बैठक जारी, मुख्यमन्त्री डिल्ली चौधरीको सम्बोधन


२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो ।

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो ।

बुधबार दिउँसो १ बजे पनि प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।

सो बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले पनि सदन सन्चालनबारे सहमति जुटेको बताए । उनले आजको बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए ।

एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए । लगत्तै उनले नै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गरेका थिए । अनलाइन खबर डटकमबाट