नेपालगन्ज: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरि अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको सचिवालयका एक नेताले बताए ।
गौतमलाई उपाध्यक्ष बनाउन प्रधाधनमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको बताइएको छ । नेकपाको बिधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो । निर्णयलाई स्थायी समितिले अनुमोदन गरे गौतम उपाध्य बन्ने बाटो खुल्नेछ ।
सचिवालय बैठकले ३३ वटा विभागको संयोजक र सह संयोजक पनि तोकेको छ । बैठकले ईश्वर पोखरेललाई स्कुल विभाग, बामदेव गौतमलाई संगठन, माधवकुमार नेपाललाई विदेश विभाग, नारायणकाजी श्रेष्ठलाई प्रचार, सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको र पर्यटन विभाग योगेश भट्टराईलाई संयोजक तोकेको छ ।
यस्तै, पाण्डे नेतृत्वको अर्थ तथा योजना विभागको सह–संयोजकमा डोरप्रसाद उपाध्याय चयन गरिएको छ भने नेपाल नेतृत्वको विदेश विभागको सहसंयोजक राम कार्कीलाई चयन गरिएको छ ।
यसअघि नै प्रदेश ईन्चार्ज तोकिसकेको नेकपाले सह इन्चार्ज पनि चयन गरेको छ । प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारी सहसंयोजक तोकिएका छन् ।
यसैगरी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, ५ नम्बर प्रदेशमा बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालिबहादुर मल्ल र प्रकाश ज्वालालाई सह–संयोजक बनाइएको छ । सुदूर पश्चिम प्रदेशमा भानुभक्त जैशी र खगराज भट्टलाई सह–संयोजकको जिम्मेवारी नेकपा स्रोतले जनाएको छ ।