नेपालगन्ज : सुन्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । जानकी गाउँपालिका वडा नम्बर तीन पासिपुरका अन्दाजी ४२ बर्षिय गोपाल पासीको खाल्डोमा गाडिएको शव पोष्टमार्टम गर्न बाँके प्रहरीले शनिबार चिहान उत्खनन् गरेको छ ।
जनैपूर्णिमाको राती खाना खाएर सुतेका पासी भोलीपल्ट विहान मृत फेला परेका थिए । मृत अबस्थामा भेटिएका पासीलाई उनका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सोही दिन खाल्डो खनेर दाहसंस्कार गरेका थिए ।
शनिबार विहान ११ बजेतिर मृतक पासीका भाईले जिल्ला प्रहरी कार्यालय बाँकेमा पासीको मृत्यु नभई हत्या भएको हुनसक्ने आशंका गर्दै ठाडो उजुरी गरेपछि बाँके प्रहरीले उक्त गाडेर दाहसंस्कार गरिएको शव उत्खनन् गरेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
गाउँपालिकाको वडा नम्बर तीनस्थित जमिनमा गाडिएका पासीको शवलाई उत्खनन् गरिएपछि बाँके प्रहरीले पोष्टमार्टमका लागि भेरी अस्पतालमा शनिबार दिउँसो चार बजे पु¥याएको प्रहरी निरीक्षक तथा मुद्दा शाखाका प्रमुख दीपक मल्ल बताउँछन् ।
प्रहरी निरीक्षक मल्लकाअनुसार पोष्टमार्टमको रिर्पोट आईतबार मात्रै आउने भएकोले घटनाका बारे विस्तृत जानकारी आइतबार थाहा हुनेछ । उनले भने ‘पोष्टमार्टम
रिर्पोटका आधारमा हत्या हो कि के हो ? थाहा हुनेछ ।’
मृतकका भाईले दाहसंस्कार गर्दा टाउकोबाट रगत निस्किएको देखेपछि पासीको मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धानका लागि आग्रह गरेको प्रहरी निरीक्षक मल्ल बताउँछन् ।
मृतक पासीले जनैपूर्णिमाको दिन साँझ मदिरा सेवन गरेको उनका भाईले बताएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक मल्लले बताए ।
खाल्डोका गाँडिएको पासीको चिहान उत्खनन गर्दा जम्मा भएका कतिपय स्थानीयले शव उत्खनन नगर्न भनेपनि मृतकका भाईको आग्रहमा प्रहरीले चिहान उत्खनन् गरेको थियो ।
घटना शंकास्पद रहेकाले पोष्टमार्टमसँगै थप अनुसन्धान पनि अघि बढाईएको छ बाँकेका प्रहरी प्रमुख एसपी ओलीले भने ‘पोष्टमार्टमका आधारमा आईतबारदेखि गम्भीर अनुसन्धान अघि बढ्छ । र, अनुसन्धानका क्रममा कोही दोषी देखिएको अवस्थामा उसलाई कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाईन्छ ।’ अन्दाजी ४२ बर्षिय गोपाल बैदेशिक रोजगारीबाट केही बर्षअघि मात्र घर फर्किएका थिए । उनका दुईछोरा र श्रीमति छन् ।