चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

चलचित्र पत्रकारद्वारा महासंघ बाँकेमा तालाबन्दी, चौतारीद्वारा नेतृत्व स्थापित गर्न वार्ता समिति गठन


सेतोखरी सेतोखरी   सोमबार, जेठ १४, २०८१
चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी

नेपालगन्ज १४ जेठ : नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेपछि यतिबेला चौतर्फी आलोचनासंगै विवाद चुलिएकोछ । नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारिता गरिरहेका पत्रकारहरूलाई भन्दा पनि विभिन्न पेसा र व्यवसायमा आबद्ध पत्रकारहरूलाई सदस्यता वितरण गरेपछि महासंघको सदस्यतामा विवाद चुलिएको हो ।

महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको छ । प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन् ।

त्यसलगत्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरूले पनि साथ दिएका छन् ।

सदस्यता सूची विवादको आगो यतिबेला केन्द्रसंगै जिल्ला शाखाहरुमा समेत लागेकोछ । प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप केन्द्रिय कार्यालयसंगै जिल्ला शाखामा तालाबन्दी गर्नुका साथै विरोध जनाइरहेका छन् । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यता सदस्यता सूचीका विषयलाई लिएर नेपाल प्रेस युनियन बाँके शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर आपत्ती जनाएकोछ । महासंघ केन्द्रिय समितिले जारी गरेको सदस्यता सूचीप्रति आपत्ति प्रकट गर्दै युनियन बाँके कडा प्रतिकारमा उत्रिने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

प्रेस युनियन बाँकेले भनेको छ–‘नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले चुनावको मुखमा आएर सदस्यता सूची सार्वजनिक गरेको छ । शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रिय समितिद्वारा जारी गरिएको सूचिप्रति नेपाल प्रेस युनियन बाँके शाखा खेद प्रकट गर्दछ ।’

महासंघको शुद्धिकरणमा एउटै मापदण्ड लागू हुनुपर्नेमा त्यसो नगरी व्यक्तिको अनुहारका आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरालाई न्यायोचित मान्न नसकिने जनाउँदै कडा कदम चाल्न बाध्य हुने प्रेस युनियन बाँकेले जनाएको छ ।

यो पनि पढ्नुहोस्  बाँकेका पत्रकारहरुबीच सुरु भयो चुनावी सरगर्मी, आगामी जेठ २६ गते नयाँ नेतृत्व चयन गरिदैँ

‘महासंघको यही जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी महासंघबाटै गरिएको यो हर्कतको प्रेस युनियन घोर निन्दा गर्दछ ।’ युनियनद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियासहितका सबै काममा अवरोध गर्ने चेतावनीसमेत दिदै महासंघबाट उत्पन्न गरिएको परिस्थितिको सबै जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

महासंघले सार्वजनिक गरेको सदस्यता सूचीका विषयमा प्रेस चौतारी नेपाल बाँके शाखा मौन बसेकोछ । बाँके चौतारीले मौनता साँधेर उक्त सूचीलाई समर्थन गरेकोछ । महासंघ बाँकेका सचिव समेत रहेका चौतरी बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा आगामी जेठ २६ गते हुने महासंघको निर्वाचनमा नेतृत्व स्थापित गर्न पहल गर्ने जनाउँदै यसका लागि प्रेस चौतारी केन्द्रिय र प्रदेश समितिको ध्यानाकर्षण गराउँदै पेशागत संघसँग वार्ता र संवाद गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेकोछ । यस्तै उक्त विज्ञप्तीमार्फत चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायलाई परेको पुत्रवियोगप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेकोछ ।

सदस्यता सूचीको विवाद बढ्दै गएपछि बाँकेका अन्य पत्रकारका संगठनको आधिकारिक धारणा यो समाचार तयार पार्दासम्म बाहिरिएको छैन । 

यस्तै सदस्यता सूचीको विषयलाई लिएर यता नेपाल पत्रकार महासंघ बाँके शाखामा सोमबार दिउँसो तालाबन्दी गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले नेपालगन्ज बसपार्क स्थित महासंघको कार्यालयमा पुगी तालाबान्दी गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेल लगायत थुप्रै क्रियाशिल साथीहरुलाई महासंघको साधारण सदस्यताबाट हटाएको प्रति आपत्ती जनाउँदै तालाबन्दी गरेको हो । 

यसअघि सदस्यता शुद्धिकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासंघले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो । सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो । चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएको संगठनको आरोप छ ।