नेपालगन्ज। सरकारले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गर्दैगर्दा नै यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलका ब्राण्डहरूले ‘जग हाल्न’ सुरु गरिसकेका थिए।
बिमानस्थल वरिपरि अहिले खर्बौंका संरचनाहरू खडा भएका छन्। तर बिमानस्थल अहिलेसम्म पनि सुनसान भइरहँदा लगानी गरेका व्यवसायीहरू भने निराश छन्।
चार वर्षअघि उद्घाटन भएको यो बिमानस्थलमा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। खासगरी भारतले आफ्नो हवाइ आकाशमा प्रवेषाज्ञा नदिएपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेका हुन्।
विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन । बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको विषयले अहिले फेरि भैरहवाको पर्यटन तथा आर्थिक क्षेत्रलाई तरंगित बनाएको छ।
सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीले भैरहवामा आयोजना गरेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी : पर्यटन कनेक्टिभिटी र आर्थिक समृद्धिको सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी मन्त्री, पर्यटन व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिले विमानस्थल सञ्चालनको अनिश्चितताप्रति असन्तुष्टि जनाए । उनीहरूले विमानस्थललाई राजनीतिक भाषणको विषय बनाउनुभन्दा नियमित उडान सञ्चालनका लागि व्यावहारिक योजना ल्याउन सरकारसँग माग गरे।
कार्यक्रममा सेन्टरका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले पूर्वाधार तयार भए पनि विमानस्थलको व्यावसायिक उपयोग हुन नसक्नु विडम्बना भएको बताए । उनका अनुसार विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, वार्षिक करिब १० लाख यात्रु धान्न सक्ने टर्मिनल र एकैपटक पाँचवटा अन्तर्राष्ट्रिय जहाज राख्न सक्ने पूर्वाधार छ।
तर छ महिनाभन्दा बढी समयदेखि तालिकाबद्ध अन्तर्राष्ट्रिय उडान नहुँदा पनि संरचना र जनशक्ति तयारी अवस्थामा राख्नुपरेको छ । सयभन्दा बढी कर्मचारीको व्यवस्थापन र वार्षिक आठ करोड रुपैयाँभन्दा बढी सञ्चालन खर्चको दायित्व यथावत् रहेको उनले बताए । ‘विमानस्थल निष्क्रिय हुँदा पनि खर्च रोकिएको छैन । पूर्वाधार तयार छ, तर त्यसको व्यावसायिक उपयोग हुन सकेको छैन,’ कर्णले भने।
विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा–लुम्बिनी क्षेत्रमा आधा दर्जनभन्दा बढी पाँचतारे होटलसहित दर्जनौँ तारेस्तरका होटल सञ्चालनमा आएका छन् । व्यवसायीले दैनिक आठदेखि १० वटासम्म ठूला जहाज आउने अपेक्षा गरेका थिए । तर नियमित उडान नहुँदा लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले विमानस्थल र होटल क्षेत्रमा भएको लगानीको प्रतिफल नआउनु गम्भीर आर्थिक समस्या भएको बताए । विमानस्थल सञ्चालनलाई हवाई सेवाको समस्याका रूपमा मात्र नभई समग्र क्षेत्रीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।
पोखरेलले लुम्बिनी आउने पर्यटकको संख्या र उनीहरूले गर्ने खर्चबीच ठूलो अन्तर रहेको तथ्यसमेत प्रस्तुत गरे । विश्व बैंकको परियोजना मूल्यांकन दस्तावेजलाई उद्धृत गर्दै उनले वार्षिक करिब ११ लाख पर्यटकबाट ४८ हजार रोजगारी सिर्जना भएको बताए । उनका अनुसार प्रत्येक २३ पर्यटक बराबर एउटा रोजगारी सिर्जना भइरहेको छ, जबकि राष्ट्रिय औसत प्रत्येक छ पर्यटक बराबर एउटा रोजगारी रहेको छ ।
लुम्बिनी आउने तीर्थयात्रीले दैनिक औसत १५ अमेरिकी डलर मात्रै खर्च गर्ने र अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने प्रवृत्ति रहेको पोखरेलले बताए । पर्यटकको संख्या बढाएर मात्रै पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन नसकिने भन्दै उनले उनीहरूको बसाइ अवधि र खर्च बढाउनुपर्नेमा जोड दिए।
कर्णका अनुसार गत वर्ष लुम्बिनीमा ११ लाखभन्दा बढी आगन्तुक पुगेका थिए । नेपाली र भारतीय आगन्तुकको संख्या केही घटे पनि नेपाल र भारतबाहेकका मुलुकबाट आउने पर्यटकको संख्या एक चौथाइभन्दा बढीले बढेको थियो । श्रीलंका, थाइल्यान्ड र म्यानमारजस्ता बौद्ध धर्मावलम्बीको बाहुल्य भएका देशबाट पर्यटक आउनु सकारात्मक भए पनि उनीहरूलाई लामो समय नेपालमै राख्न नसक्नु चुनौती बनेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल निर्माणको आश्वासनमा निजी क्षेत्रले ठूलो लगानी गरेको बताए । विमानस्थल सञ्चालन हुने विश्वासमा लगानी गरेका व्यवसायी अहिले संकटमा परेको उनको भनाइ थियो ।
‘यदि यो विमानस्थल नबनेको भए निजी क्षेत्रले यति धेरै लगानी गरेर जोखिम मोल्ने थिएन । राज्यले आश्वासन दिएर लगानी गर्न लगायो, तर अहिले व्यवसायीलाई संकटमा छाडिएको अनुभूति भएको छ,’ श्रेष्ठले भने ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल सञ्चालनका लागि पटक–पटक छलफल र आन्दोलन गर्दा पनि सरकारले चासो नदेखाएको गुनासो गरे । नेपाल वायुसेवा निगमलाई भैरहवाबाट नियमित उडान गर्न बाध्य पार्ने वा कूटनीतिक पहलमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनले बताए।
चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले विमानस्थल नियमित सञ्चालन नभएसम्म लुम्बिनी प्रदेश र रुपन्देहीको आर्थिक विकासले अपेक्षित गति लिन नसक्ने बताए । पर्यटन क्षेत्रमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिममा पर्दासमेत सरकार गम्भीर नदेखिएको उनको गुनासो थियो।
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन
दाङमा बन्नेछ, योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र