नेपालगन्ज ४ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज(मङ्गलबार) विश्वासको मत लिंदै छन् । नेपाली काँग्रेससंगको गठबन्धनबाट र आचार्य गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन् ।
काँग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित जस्तै छ । आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल काँग्रेस, एमालेले ह्वीप जारी गरिसकेका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।
लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उक÷एक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दलकै स्पष्ट बहुमत रहेको र साना दल समेत सत्ता पक्षमा रहेकाले विश्वासको मत पाउने निश्चित रहेको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले बताए ।
शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलोपटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेका थिए ।