पुनः सक्रिय भयो मनसुन, लुम्बिनीमा रातीसम्म वर्षा हुने


सेतोखरी सेतोखरी   बुधबार, भदौ ५, २०८१
पुनः सक्रिय भयो मनसुन, लुम्बिनीमा रातीसम्म वर्षा हुने

नेपालगन्ज ५ भदौ : पछिल्लो समय देशमा मनसुन पुनः सक्रिय भएकोछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको हो ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।

मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । आज (बुधबार) बिहान यो समाचार तयार पार्दासम्मको अवस्था हेर्दा सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ ।

वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा आज सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो । 

यसैबीच, आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनएको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ । बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने  र कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।