सडक सञ्जाल पूर्णरुपमा सञ्चालनमा नआएपछि बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी


सेतोखरी सेतोखरी   मंगलबार, असोज १५, २०८१
सडक सञ्जाल पूर्णरुपमा सञ्चालनमा नआएपछि बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

नेपालगन्ज १५ असोज : यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

१२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको हो । यसका लागि आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने तयारी रहेकोछ ।

धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएकोछ ।

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ ।

घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।