कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन

डोल्पा कारागारबाट सुरुङ बनाएर आठ कैदी फरार


सेतोखरी सेतोखरी   ५३ मिनेट अगाडि
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिलराज गिरी, प्रमुख जिल्ला अधिकारी जुनु हमालसहित प्रहरीको एउटा टोली सदरमुकाम दुनैस्थित जिल्ला कारागार पुगे। कारागार घेरिएको अग्लो पर्खालमुनि एउटा सुरुङ देखियो, जहाँबाट शुक्रबार राति ८ जना कैदीहरू निस्किएर भागेका थिए। 

प्रहरीका अनुसार त्यो सुरुङ कैदीहरू सुत्ने कोठाबाट पर्खाल बाहिरसम्मको लगभग ४ मिटर ३० सेन्टिमिटर लामो छ। पर्खालबाहिरको त्यो प्वाललगत्तै नदी बगिरहेको छ। छेउमै कारागार सुरक्षार्थ चौविसैघण्टा प्रहरी बस्ने अग्लो सेन्ट्री प्वाइन्ट पनि छ। तर त्यति लामो सुरुङ खन्दासम्म न कसैले सुइँको पाए न कैदीहरू भागेको नै पत्तो पाए। 

जिल्लाभरिका सबै प्रहरी युनिटहरू र छिमेकी जिल्लाहरूमा समेत खोजी गर्दा पनि शनिबार दिनभरि कुनै पनि फरार कैदीहरू भेटिएका छैनन्। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत फिल्डमै खटिएका थिए। 

‘हामी दिनभरि नै उनिहरूलाई खोज्न निस्किएका छौं। कतै फेला परेनन्। जिल्लाभरिका सबै युनिटहरूमा सर्कुलर भएको छ। जिल्लाका सबै सिमानाहरू पनि सिल गरेका छौं’ शनिबार साँझपखमात्रै जिल्ला प्रहरी कार्यालय फर्किएका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहले सेताेखरीसँग भने ‘पहिलो प्राथमिकता त उनिहरूको खोजी हो। त्यसपछि अरु अनुसन्धानको काम सुरु होला। सबैभन्दा पहिला त ती फरार कैदीहरूलाई फेला पार्ने नै हो।’

उनका अनुसार सबै फरार कैदीहरू नभेटिएसम्म दिनरात नै प्रहरीले सर्च अभियान जारी राख्नेछन्। नेपाल प्रहरीसँगै जिल्लाको सशस्त्र प्रहरी पनि भागेका ती कैदीहरू खोज्न खटिएको छ। सिंहका अनुसार जिल्लाका विभिन्न २५ स्थानबाट प्रहरी टोली खटाइएको छ। 

कारागार सुरक्षामा खटिएका प्रहरीहरूले समेत कैदीहरू फरार भएको बिहानपखमात्रै थाहा पाएका थिए। त्यसपछि जिल्ला प्रहरीमा खबर भयो। त्यसपछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा केही रड तथा तरकारी काट्ने चुलेसीलगायतका औजारहरू फेला परेका छन्। कैदीहरूले त्यही औजार प्रयोग गरेर सुरुङ खनेको हुनसक्ने प्रहरीको अनुमान छ। कारागार प्रशासनका अनुसार पर्खालमुनि त्यसको डिपिसीसमेत छैन। र खनिएको क्षेत्रमा बलौटे माटो छ। त्यसले गर्दा पनि खन्नका लागि सजिलो भएको हुनसक्ने प्रहरीको अनुमान छ। तर अहिलेसम्म प्रहरीले ठ्याक्कै कसरी सुरुङ खनियो भन्ने एकीन गरिसकेको छैन।

कारागारमा जम्मा १७ जना कैदी थिए। तीमध्ये ८ जना फरार भएका छन्। उनिहरू एउटा ठूलो हलमा राखिएका कैदीहरू हुन्। उनिहरू निस्किएको ठाउँ दुई ठूला पर्खालबीचको खाली भाग हो। जहाँ सिसिटीभी क्यामेराको समेत पहुँच छैन। त्यसैले उनिहरू कतिबेला निस्किए भन्ने पनि एकीन छैन। प्रहरीको अनुमानमा ती कैदीहरूले अलि लामो समय लगाएर योजना बनाएको हुनसक्छ। नत्र त्यति लामो सुरुङ खनेर त्यहिँबाट निस्किनका लागि एकै रातको केही घण्टाभित्रै सम्भव नै हुँदैन। त्यति ठूला औजारहरूसमेत नभेटिएका कारण त्यस्तो सम्भव नहुनसक्छ। 

‘हामी बिहानै त्यहाँ पुगेर घटनास्थलको सबै निरीक्षण र प्रारम्भीक अनुसन्धान गरेका छौं। कारागार प्रशासन र सुरक्षामा खटिएका प्रहरीहरूसँग पनि सोधपुछ गरिरहेका छौं। कारागारमा रहेका अन्य कैदीहरूसँग पनि सोधपुछ भइरहेको छ’ प्रहरी निरीक्षक सिंह भन्छन् ‘अहिले नै केही भन्न सकिने अवस्था छैन। किनकि अहिले हामीले कसरी भागे, कसरी सुरुङ खने भन्नेतिर लाग्यौं भने फरार कैदीहरू धेरै टाढा पुगिसक्छन्। त्यसैले पहिलो काम भनेको उनिहरूलाई नियन्त्रणमा लिने नै हो। त्यसपछिमात्रै सबै कुराहरू पत्ता लाग्लान् नि। अनुसन्धान त हामीले विभिन्न तरिकाबाट गरिरहेका छौं।’ 

घटनाबारे कर्णाली प्रदेस प्रहरी कार्यालयले पनि नजिकबाट नियालीरहेको जनाएको छ। र सबै प्रहरी इकाईहरूलाई फरार कैदीहरूको खोजीमा जुट्न निर्देशन जारी गरिएको प्रदे प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए। 

प्रहरीका अनुसार रुकुम पश्चिमको आठबिसकोट न.पा.१० घर भएका जबर्जस्ती करणी मुद्दाका ३२ वर्षीय राम बि.क, डोल्पाको त्रिपुरासुन्दरी न.पा.७ घर भएका जबर्जस्ती करणी मुद्दाकै वर्ष २९ का कालीप्रसाद रोकाय, सल्यानको कुमाख गा.पा.५ घर भएका वर्ष २८ का जबर्जस्ती करणी मुद्दाका रेशम राना, जाजरकोटको बारेकोट गा.पा.१ घर भएका जबर्जस्ती करणी मुद्दाका वर्ष २५ का यज्ञ बि.क, डोल्पाको त्रिपुरासुन्दरी न.पा.४ घर भई जबर्जस्ती करणी मुद्दाका वर्ष २८ का धन बुढा भन्ने हरिबहादुर बुढा, जाजरकोटको नलगाड न.पा.९ घर भएका चोरी मुद्दाका वर्ष १९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन्। त्यस्तै पुर्पक्षका लागि थुनामा राखिएका रुकुम पश्चिम जिल्ला आठबिसकोट न.पा.५ घर भएका चोरी मुद्दाको वर्ष ३८ का तिलक भण्डारी र रुकुम पश्चिम जिल्ला आठबिसकोट न.पा.३ घर भएका चोरी मुद्दाका वर्ष ३२ का आदेश भण्डारी पनि फरार भएका छन्।