दाङ जिल्ला उद्योग वाणिज्य संघमा एमाले निकट प्यानल बिजयी, केही पदमा काँग्रसका व्यवसायी


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
दाङ जिल्ला उद्योग वाणिज्य संघमा एमाले निकट प्यानल बिजयी, केही पदमा काँग्रसका व्यवसायी

घाेराही। दाङ जिल्ला उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ। व्यवसायी ध्रुबकुमार गहतराजको अध्यक्षतामा चुनावी मैदानमा उत्रिएको प्यानल संघको नेतृत्वमा आएको हो। नेकपा एमालेले अघि सारेको यो प्यानलमा नेकपा, राप्रपालगायतका ब्यापारीहरूले समर्थन गरेका थिए। 

यो प्यानलसँग चुनावी प्रतिष्पर्धामा उत्रिएको नेपाली काँग्रेस र अन्य प्रजातान्त्रिक व्यवसायीहरूले नरेशकुमार श्रेष्ठको प्यानलबाट भने पदाधिकारी र केही सदस्यहरू निर्वाचित भएका छन्। गहतराज ११५५ मतका साथ दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्ववन्द्वी श्रेष्ठ भने ११०५ मतमै सिमित भए। 

नेकपा एमालेले खडा गरेको प्यानलसँग अलग भएर बागी प्यानल खडा गरेका अध्यक्षका उम्मेदवार अनिल आचार्यले २४४ मत मात्रै ल्याए। पार्टीको निर्णय विपरीत निर्वाचनमा होमिएको भन्दै अनिल आचार्य र उनको प्यानलबाट उम्मेदवार भएका केही व्यवसायीहरूलाई नेकपा एमालेको जिल्ला कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। आचार्यको प्यानललाई रास्वपाका केही व्यवसायीहरूले समेत अघोषितरुपमा समर्थन दिएका थिए।

गहतराज नेतृत्वको साझा व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ विजयी भएका छन्। सचिवमा भीमसेन डाँगी र सह कोषाध्यक्षमा शालिग्राम आचार्य विजय भएका छन्। 

महासचिव पदमा माधव खनाल र कोषाध्यक्ष पदमा पनि अर्को प्यानलका उम्मेदवार विजयी भएका छन्। यी दुई पदाधिकारी श्रेष्ठ प्यानलका हुन्। 

नयाँ कार्यसमितिमा उद्योग सदस्य मानबहादुर बिक, महिला सदस्य सुलोचना गौतम, त्यस्तै अन्य सदस्यहरूमा गोपालप्रसाद खनाल, सुभाष न्यौपाने, मुक्तिराम खनाल, दीवाकर पाण्डेय, केशव डिसी, राधिका बन्जाडे, नरबहादुर चौधरी र दुर्गाप्रसाद चौधरी बिजयी भएका छन्। 

व्यवसायीहरूको विवादका बीच पटक पटक रोकिएको निर्वाचन शनिबारमात्रै भएको थियो।