जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध

सबै उत्पादन फिर्ता गर्न र प्रयोग नगर्न विभागको निर्देशन, सिमानाका बजारमा उच्च शतर्कता अपनाउन अपिल

नेपालगन्ज। एउटा भारतीय बिस्कुट कम्पनीका सम्पूर्ण उत्पादनहरू नेपालमा प्रतिबन्धित गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै भारतीय ब्राण्ड प्रियागोल्ड विस्कुटका सबै उत्पादनहरू बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।

उक्त विस्कुट बजारमा बिक्रिवितरण र भारतबाट ल्याउनसमेत बन्देज गरिएको छ। 

खासगरी सिमानाका सहरहरूबाट हुने अवैध पैठारीका सवालमा चनाखो हुन पनि विभागले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

विभागको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उक्त विस्कुटमा अखाद्य वस्तु भेटिएको भन्दै नेपालमा त्यसको बिक्रिवितरणमा रोक लगाएको हो। 

यसअघि ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले उक्त बिस्कुटमा अखाद्य वस्तु फेला परेको भन्दै भारतीय बजारमा पनि बन्देज लगाएको थियो। भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखाना निरीक्षण गर्दा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरेको भेटिएको थियो। उक्त चोकर राखिएका जुटको बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ भनी उल्लेख गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश दिएको छ। आदेशको बेवास्ता गरी उक्त बिस्कुटको बिक्री वितरण जारी राखे वा जनस्वास्थ्यमाथि खेलबाड गर्ने कुनै पनि कार्य गरे प्रचलित ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी समेत विभागले दिएको छ।