नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरिक्षक डिएसपी हेमबहादुर शाहीले अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरूको सूची तयार भइरहेको बताएका छन् ।
डिएसपी शाहीले विगतमा अपराध गरी फरार भएका अपराधीलाई ईन्काउण्टर गरेरै भएपनि नियन्त्रणमा लिई कानूनको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
हामीले विगतदेखि अहिलेसम्म अपराधिक क्रियाकलापमा संलग्न रहेका ब्यक्तिको सूची तयार पारेका छौं’ डिएसपी शाहीले भने, ‘उनीहरूलाई कानूनको दायरामा ल्याउन आवश्यक परेको खण्डमा ईन्काउन्टर गर्न समेत प्रहरी बाध्य हुनेछ ।’
कोहलपुरमा हुने अपराधिक गतिविधिलाई शून्यमा झार्ने उनको प्रण छ । जिल्लाको सबैभन्दा संवेदनशिल क्षेत्रका रूपमा रहेको कोहलपुरमा चोरी डकैती, गुण्डागर्दी, लागुपदार्थ दुब्यर्सनी जस्ता अपराधिक गतिविधिहरु बढि मात्रामा हुने गरेकोतर्फ आफु सचेत रहेको उनले बताए ।
कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी लिएको एक साता भित्रै बिभिन्न अपराधिक गतिबिधीमा संलग्न १ सय ५० बढि युवाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको शाहीले बताए ।
लागुऔषध नियन्त्रणका लागि विद्यालय स्तरीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भईरहेको उनले बताए ।
केही दिनभित्रै नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यत्रम संचालन गरिने शाहीले बताए ।
अहिले कोहलपुर प्रहरीले आठ वर्षदेखी फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको छ ।