नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगभग साढे महिनापछि नेपाल फर्किएका छन्। गत भदौ २३को जनआन्दोलनका बेलामा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो। उनिहरूको निवास पनि जलाइएको थियो। त्यो बेला सैनिक अस्पतालमा उपचार गराएपछि थप उपचारका लागि उनिहरू हङकङ गएका थिए। गत कात्तिक सिङ्गापुर गएर आएका थिए। त्यसपछि चुनाव लगत्तै फेरि उनि त्यहाँ पुगेका देउवा साढे पाँच महिनापछि नेपाल फर्किएका हुन्।
उनकी पत्नी आरजु राणा देउवा र छोरा भने फर्किएका छैनन्। गत पुसमा नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि अहिले नेपाली काँग्रेस विभाजनको विवादमा छ। यसबारे सर्वोच्चमा मुद्दा बिचाराधीन भइरहेका बेला देउवा पक्षका काँग्रेसीहरूले भने साउन २९ गते राष्ट्रिय भेला राखेका छन्। त्यसकै लागि देउवा फर्किएका हुन्। यद्यपि यसअघि नै निर्वाचन आयाेगले विशेष महाधिवेशनलाई नै मान्यता दिइसकेकाे थियाे र देउवा पक्षका नेताहरूले दिएकाे रिटमा पनि सर्वाेच्चले आयाेगकै निर्णयलाई सदर गरेकाे थियाे। तर फेरि त्यसकाे पुनरावलाेकनका लागि अहिले उक्त मुद्दा सर्वाेच्चकाे संवैधानिक इजलासमा लगिएकाे छ।
हजारौको संख्यामा विमानस्थलमा जुटेका कार्यकर्ताहरूले देउवालाई स्वागत गरेका थिए। त्यसपछि नाराबाजी गर्दै उनलाई धुम्बाराहीस्थित निवासमा पुर्याइएको छ।
सिङ्गापुर जानुअघि नै देउवा दम्पती नेपालबाट बाहिरिनुअघि नै उनीहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भइसकेको थियो। अनुसन्धानका क्रममा उनीहरू तथा परिवारका सदस्यका नाममा रहेका चल(अचल सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ। त्यसक्रममा इन्टरपोल लगाएर उनिहरूको खोजी भइरहेको समाचारहरू पनि सार्वजनिक भए। तर त्यो स्वतन्त्ररुपमा पुष्टी भएन। पछि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले आरजु र उनका छोरा जयदेवलाई हाजिर हुन पनि बोलाएको थियो। त्यसअघि अदालतले नै देउवामाथि तत्काल धरपकड नगर्न भनेर अग्रिम आदेश पनि दिइसकेको थियो।