रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता

नेपालगन्ज- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा खसेको पहिरोमा परी १० जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर वेपत्ता भएका अरु तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

रोल्पा प्रहरीका अनुसार पहिरोमा परेर ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च गरी १३ संरचनाहरू पुरिएका थिए।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार तथा खोजी जारी राखेका छन्। 

पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर घटनास्थलमै मृत भेटिएका थिए। बाँकी पाँच जनाको शव रोल्पाको सुलिचौर नजिक लाम्पा खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा भेटिएको प्रहरीले जनाएको छ। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान भएको छ।

त्यसैगरी तीन जना बेपत्ता रहेका छन् भने गम्भीर घाइते भएका थबाङ गाउँपालिका(५ कै बर्ष २२ का हिमाल पुन मगर र वर्ष २५ का संजय घर्ती मगरलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।