भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’ 


सेतोखरी सेतोखरी   १८ घण्टा अगाडि
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’ 

काठमाडौं। धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं जोडिने मुख्य नाका पूर्णरुपमा बन्द भएको छ। पूर्वपश्चिम राजमार्ग भएर काठमाडौं जोडिने यो सडक त्रिशूलीको बाढीले भासिएको हो। 

यो सडक भनेको काठमाडौं, भक्तपुर र ललितपुरको ‘लाइफ(लाइन’ नै हो। कृष्णभीरमा यो सडकखण्डको लगभग पूरृ भाग नदीमा मिसिएको छ। बाटो भत्काएर त्रिशूली कृष्णभीर नै छोएर बग्न थालेको छ। 

त्यस्तै मलेखु नजिकको सडक पनि त्रिशूलीमा भासिएको छ। जसका कारण त्यो खण्ड पनि अवरुद्ध भएको छ। 

यो ‘लाइफ(लाइन’ अवरुद्ध हुँदा केही दिन आपूर्ति रोकिएमा काठमाडौंमा ठूलो अभाव सिर्जना हुनेछ। खाना बनाउने ग्याँसको अभाव भइरहेको र कालोबजारी अनि महंगी बढिरहेका बेला काठमाडौं छिर्ने मूल बाटो नै बन्द भएपछि काठमाडौं अब चारैतिरबाट नाकाबन्दीमा परेको छ। 

यो सडक पूर्णरुपमा मर्मत गर्नका लागि महिनौं लाग्नसक्ने सडक डिभिजन विभागले जनाएको छ। 

गत वर्षको बाढीले बगाएपछि बिपी राजमार्ग पनि आधाभन्दा धेरै ठाउँमा अवरुद्ध छ। ठूला सवारी त्यो बाटोबाट छिर्नै नसक्ने स्थिति छ। 

हेटौडा(काठमाडौंका सडक पनि निकै साँघुरो हुँदा मालबाहक सवारीहरूलाई त्यहाँबाट पास गराउन निकै गाह्रो छ। 
यसबीचमा काठमाडौं जोड्नेगरी केही बैकल्पिक सडक रुट खुलाइएको छ। 

त्रिशुली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको हो। 

जसअनुसार चार पाङ्ग्रे सवारीसाधन फिस्लिङ–आग्रीडाँडा–तोमनडाँडा–वनटार–दलभञ्जाङ–सिउरेनीटार–बेनिघाट हुँदै काठमाडौं आउन सक्नेछन्। 

यस्तै, मोटरसाइकलका लागि मझिमटारअगाडि ज्यामिरेघाट झोलुङ्गे पुल–सिउरेनीटार–बेनिघाट मार्ग तोकिएको छ।

तनहुँको आँबुखैरेनीबाट काठमाडौं आउने सवारीसाधनले गोरखा सदरमुकाम–बुंकोट–नाम्जुङ–घैरुङ–दरबुङ–सिउरेनीटार–बेनिघाट सडक प्रयोग गर्न सक्नेछन्।

त्यस्तै हेटौडा(काठमाडौं सडकखण्डमा पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले रुट व्यवस्थापन गरेको छ। 

जसअनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ भएर राजधानी प्रवेश गर्ने र त्यही सडक मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ। त्यस्तै १४ सिटभन्दा माथिका यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ भएर आउजाउ गर्ने र १४ जनाभन्दा कम सिट भएका यात्रुवाहक र निजी सवारी साधन हेटौंडा–भीमफेदी–कुलेखानी सिस्नेरी, फाखेल सडक हुँदै आउजाउ गर्नेछन्।

यो सडकखण्डमा अत्यधिक सवारी चाप रहने हुनाले केही समय जरुरी कामबाहेक ओहोर(दोहोर नगर्न पनि प्रशासनले अपिल गरेको छ।