नेपालगन्ज: राजश्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगमाथि मुद्दा दायर गरेको छ ।
विभागले सात करोड ५२ लाख दुई हजार ७ सय ७४ बराबरको बिगो सहित उक्त उद्योगको विरूद्ध मुद्दा दर्ता गरेको हो । बिभागले जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेका छ । उक्त उद्योगले ईको प्लस नामक गुट्खा उत्पादन गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७३/०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोग छ ।
अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो । विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७ सय ७४ रुपैयाँ बिगो कायम गरेको छ ।
उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ ।
बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने व्यवस्था पनि छ ।
यता उद्योगका सञ्चालक कुतबुद्धिन शेषका दाजु बब्लु शेषले कानून सम्मत तरिकाले उद्योग सञ्चालन भएको दावी गर्दै अदालतबाट न्याय पाउने अपेक्षा गरेका छन् ।