सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन् 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन् 

काठमाडौं। सरकारका प्रवक्ता एंव शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पक्रउ वा नियन्त्रणमा नलिएको दाबी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले यस्तो दाबी गरेका हुन्।

शनिबार राति मध्यरातमा घरमा सुतिरहेका जबरालाई प्रहरीले उठाएर अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। त्यसपछि आइतबार दिउँसोमात्रै उनलाई घर छोडिएको थियो। उक्त घटनाको चौतर्फी आलोचना भइरहेका बेला सरकारले भने उनलाई नियन्त्रणमा लिएको नभएर ‘रेस्क्यू’ गरिएको दाबी गरेको छ। 

‘जेनजीहरूबाट थ्रेट आएको कुरा सरकारले भनेको छैन। त्यो मिडियामा आएको कुरा हो। कुनै अपरिचित समूहले उहाँलाई टेक्स्ट (म्यासेज)मार्फत थ्रेट दिएको हो’ पोखरेलले भने ‘यस्तो भएपछि कुनै पक्राउ गरिएको होइन। सुरक्षामा प्रश्न आएपछि उहाँलाई रेस्क्यू गरेर लगिएको हो। उहाँले सुरक्षा माग त गर्नु भएकै थियो त।’  

एक अर्को प्रश्नमा उनले कुनै भिआइपीको पछाडि सरकारले सुराकी लगाएको भन्ने आरोपको पनि खण्डन गरे। रास्वपाकै सांसद अमरेशकुमार सिंहले सरकारको आलोचना गर्दा आफू र पार्टीकै सभापति रवी लामिछाने तथा पुष्पकमल दाहालका पछाडी सरकारले सुराकी लगाएको आरोप लगाएका थिए। एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा सिंहले लगाएको यस्तो आरोपको उनले खण्डन गरेका हुन्। 

‘त्यो उहाँले कसरी भन्नुभयो थाहा छैन, कसैप्रति निगरानी गरिएको छैन’ उनले भने ‘उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, त्यसको जानकारी त उहाँहरूबाटै लिनुपर्ला नि?’