काँग्रेस महामन्त्रीकाे दौडमा अमरसिंह- को हुन् उनि?


सेतोखरी सेतोखरी   ५६ मिनेट अगाडि
काँग्रेस महामन्त्रीकाे दौडमा अमरसिंह- को हुन् उनि?

नेपालगन्ज। नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगर अब पार्टीको केन्द्रीय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन्। त्यसका लागि उनले ‘मिसन महामन्त्री’ भनेर सामाजिक सञ्जालमा अभियानसमेत चलाइसकेका छन्। 

आफ्नै गृहजिल्ला रोल्पाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएपछि उनि केन्द्रीय नेतृत्वको प्रतिष्पर्धामा लागेका हुन्। यही असोज १८ गते काठमाडौंमा उद्घाटन हुने नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा उनि पार्टीको महामन्त्री पदमा भिड्नेछन्।

उनी १४ औं महाधिवेशनमा शेखर कोइराला-गगन थापा समूहबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित भएका पुनले गत पुसमा भएको विशेष महाधिवेशन सफल बनाउन व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हालेका थिए। त्यही महाधिवेशन लगत्तै उनि गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट निर्वाचन लडेका थिए।

‘क्षेत्रीय अधिवेशन सकेर म काठमाडौं आइसकेको छु। त्यसैको तयारी गर्नका लागि हो। म सर्वसम्म चुनिएर आएको छु’ पुनले भने ‘यसअघि नै मैले महामन्त्रीमा प्रतिष्पर्धा गर्छु भनेकै थिएँ। अब त्यसकै तयारीमा लागेको छु।’ 

कैयौ संकटकालीन अवस्थामा पनि पार्टीप्रति निष्ठावान भएर काम गरेको भन्दै उनले अब एक पटक केन्द्रीय नेतृत्वको जिम्मेवारीका लागि आम काँग्रेसी कार्यकर्ताहरूले अवसर दिने विश्वास पनि गरे। 

‘देशभरि अनि विदेशबाट पनि पार्टीका हजारौं प्रतिनिधिहरू यस महाधिवेशनमा भाग लिन आउँदै हुनुहुन्छ। काँग्रेस बदलिनुपर्छ अनिमात्रै देश बदल्न सकिन्छ भनेर हामीले गत पुसमा विशेष महाधिवेशन गरेका छौं’ उनले भने ‘यो बदलिएको काँग्रेसमा अहिले लाखौं युवाहरूको आकर्षण बढिरहेको छ। हामीले उहाँहरूलाई निर्णायक तहमा पनि सँगसँगै लैजाने भनेका छौं। अब नयाँहरूले नै नेतृत्व गर्नुपर्छ, तर पुरानो अनुभवहरूले नयाँ यात्रालाई अझ सुदृढ बनाउँछ।’ 

को हुन् उनि?
रोल्पाको साविकको राँक गाविस अर्थात् हालको गंगादेव गाउँपालिकामा जन्मिएर त्यहिँ बाल्यकाल बिताएका पुनको परिवार मध्यमस्तरको हो। उनका पितापूर्खा कुनै बेला ‘जिम्मवाल’ पनि थिए। त्यसैले परिवारमा राजनीतिक चेत पनि थियो। अहिले उनका अरु भाइहरू पनि राजनीतिमै छन्। कोही पार्टीमा सक्रिय छन्, जनप्रतिनिधिसमेत छन्। कोही भाइ व्यवसायमा पनि स्थापित भइसकेका छन्। उनले पनि केही समय निर्माण व्यवसाय गरे। त्यो बेला उनले थुप्रै विकास निर्माणका कामहरू गरेका छन्।

गाउँमै प्राथमिक शिक्षारम्भ गरेका उनी १८ वर्षको किशोरावस्थामा भारत गए। त्यही रोजगारी गर्दै उनले भारतमै हाइस्कुल पास गरेका २०५० सालमा नेपाल फर्किएपछि उनी गाउँघरमै रहेर सामाजिक कामहरू गरे। पञ्चायतकालीन राजनीतिमा पार्टीका आन्दोलन, विद्रोह र अभियानहरूमा सक्रिय भएर मोर्चा सम्हालेका पुन २०४६ सालको परिवर्तनपछि पार्टीको सक्रिय राजनीतिमा केन्द्रित भए। त्यसपछि पनि राजनीति र व्यवसाय सँगसँगै अघि बढाइरहे। २०७० सालमा संविधानसभामा सदस्य भएपछि उनले आफ्नो व्यवसायभन्दा राजनीतिलाई प्राथमिकता दिए। नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन २०४८, २०४९, २०५१, २०५४, २०६४, २०७०, २०७४, २०७९लगायतका निर्वाचनमा उनले निकै सक्रिय भूमिका पनि निर्वाह गरेका छन्। कुनै बेलामा माओवादीको बिगबिगी र जगजगी रहेको पश्चिम रोल्पाको यो गाउँपालिकामा आज पनि अधिकांश स्थानीय तहहरू नेपाली काँग्रेसका जनप्रतिनिधिहरूले हाँकिरहेका छन्। यो सब पुनकै प्रभावले हो। पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखी हालसम्म निरन्तर महासमिति सदस्य हुँदै आएका छन्। २०६२ मा भएको काँग्रेसको ११ अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन वि।स। २०७२ मा भएको १३ औं महाधिवेशनबाट नेपाली काँग्रेस रोल्पाको जिल्ला सभापतिमा निर्वाचित भए। त्यो बेला उनले संविधानसभाको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्यका रुपमा पनि भूमिका निभाइसकेका छन्।

व्यक्तिगत र राजनीतिक जीवनका कैयौ आरोह-अवरोह र उतार-चढावसँगसँगै उनले यसका कैयौ घुम्तीहरू पार गरिसकेका छन्। एउटा राजनीतिक व्यक्तिका जीवनमा अनेक मोडहरू आउँछन्, त्यसलाई छिचोल्नैपर्छ। सफलता अनि असफलताका थुप्रै आयामहरूसँग जुधिसकेका अमरसिंह पुनको राजनीतिक जीवन अहिले फेरि एकपटक चुनावी मैदानका चुनौतीहरूसँग सामना गरिरहेको छ।

बाँकेसँग साइनो
रोल्पाली माटोमा जन्मिएर हुर्किएका उनको यो ‘मधेस’ साइनो कस्तो र कसरी भयोरु यसको एउटा मुख्य कथानक त्यही माओवादी युद्ध थियो। युद्धको त्यो जगजगी अनि माओवादीको बिगबिगी र चकचकीका बीचमा पनि नेपाली काँग्रेसलाई रोल्पाका पाखापखेराहरूमा फैलाउने एक खम्बा पनि हुन् पुन। 

त्यो बेला तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका खास विश्वासपात्र थिए, सुशील कोइराला। गिरिजाका दूत बनेर माओवादीसँग सम्पर्क गर्न रोल्पा पुगिरहन्थे उनी। त्यस्तो जगजगीका बेलामा पनि छाती खोलेर नेपाली काँग्रेसलाई माओवादीसँग जोड्न अमरसिंहले निकै साहसपूर्ण जोखिम उठाएका थिए। त्यही सिलसिलामा सुशील कोइरालासँग पुनको राजनीतिक साइनो गहिरोसँग गाँसियो। 

माओवादी युद्धकै कारण विस्थापित भएर बाँकेको जानकी गाउँपालिकामा एउटा घर बनाएका उनि बाँकेमै पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भइरहेका थिए। सुशील कोइरालाको गृह जिल्ला पनि बाँके नै हो। यही ठाउँमा रहेर पुनले पनि नेपाली काँग्रेसलाई बलियो बनाउन धेरै कामहरू गरिसकेका छन्। 

यहाँको पार्टी संगठन निर्माणदेखि पार्टीका कार्यालय अनि काँग्रेसको राजनीतिलाई स्थापित गर्न उनले सधैं कोइरालाको निकट रहेर पार्टीको काम गरिरहे। पछि सुशील कोइराला नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री हुँदासमेत पुनले कोइरालासँगै रहेर राजनीतिक संयोजनको काम गरिरहे।