काँग्रेस महाधिवेशन दाङ क्षेत्र नं ३

७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे


सेतोखरी सेतोखरी   ४९ मिनेट अगाडि
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे

दाङ। त्यो बेला २०७० सालमा संविधानसभाको दोस्रो चुनाव थियो। त्यसबेला दाङमा चारवटा निर्वाचन क्षेत्र थिए। जसमध्ये क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए बुद्धिराम भण्डारी। 

त्यो बेला चुनावमा नेपाली काँग्रेसको माहोल थियो। २०६४ सालमा सबै क्षेत्रमा माओवादीले जितेको थियो भने दोस्रोपटक २०७० मा चारै क्षेत्र नेपाली काँग्रेसले बाजी मार्‍यो। क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीले जिते अनि शंकर पोखरेलले चुनाव हारे। त्यो बेला पोखरेल एमालेका सचिव थिए। 

तर यसपालि भने भण्डारीले आफ्नै पार्टीको आन्तरिक त्यो पनि तत्लो तहमै पराजय भोग्नुपर्‍यो। १५ औं महाधिवेशनका लागि क्षेत्र नं ३ बाट चुनावी प्रतिष्पर्धामा आएका उनि पराजित भए। उनले ३१२ मत पाएका थिए। त्यस्तै क्षेत्र नम्बर ३ क का सभापति देवेन्द्रकुमार रिजाल पनि २९१ मतमात्रै पाएर पराजित भए। 

यही क्षेत्रबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत तथा सिंचाइमन्त्री दीपक गिरी भने ‘समानुपातिक’ अर्थात् खस आर्य कलस्टरबाट महाधिवेशन प्रतिनिधि चुनिए। लगभग १ हजार २२४ क्षेत्रीय प्रतिनिधिले मतदान गरेको यो क्षेत्रमा उनले ९०७ मत प्राप्त गरे। उनका दाजु गेहेन्द्र गिरीको एउटा समूह भने देउवा पक्षीय महाधिवेशनमा छ। दीपक गिरी गत फागुन २१ को निर्वाचनमा पनि क्षेत्र नं ३बाटै चुनाव लडेका थिए। तर रास्वपाका कमल सुवेदीले उनलाई पराजित गरे। 

यो क्षेत्रमा थारु कलस्टरबाट डिल्लीबहादुर चौधरीले भने केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि चुनावै लड्नुपरेन। उनि सर्वसम्मत भए। उनि यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि हुन् र शेरबहादुर देउवाका निकट छन्। तर उनले यो महाधिवेशनमा भाग लिएका छन्। 

क्षेत्र नं ३ बाट सबैभन्दा लोकप्रिय मत सुरेश हमालले पाए। हमाल यसअघि तुलसीपुर उपमहानगरको काँग्रेस सभापति हुन् र गत पुमा भएको विशेष महाधिवेशनको पक्षमा सबैभन्दा पहिला दाङमा समूह बनाउने पनि उनै हमाल हुन्। उनले सबैभन्दा धेरै ९१६ मत प्राप्त गरे। उनि खुलातर्फ लडेका थिए। हमाल यातायात ब्यवयायबाट नेपाली काँग्रेसको राजनीतिमा आएका हुन्। 

यहीँबाट विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका पुराना नेता केशब आचार्य पनि ७२० मत प्राप्त गरेर केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका छन्।  

यही क्षेत्रका क्षेत्रीय सभापति जगतबहादुर खड्का, जितबहादुर केसी, प्रमोद बस्नेत, जनकप्रसाद खराल, टेकनप्रसाद बस्नेत ‘हिमाल’, गोविन्दबहादुर शाह शम्भु, अनिलकुमार कार्की, सुबोधकुमार डाँगी, नहकुल केसी, खस आर्यमा महादेव शाहले ३०९ लगात निर्वाचित भएका छन्। त्यस्तै यही समूहबाट सुष्मा लामिछाने गिरी, देवा डाँगीले, सुष्मा चन्द, र पार्वती पुन पनि निर्वाचित भए। अर्चना रेग्मी,  राघव देवकोटा,  देविका नेपाली घिमिरे, मोहन लम्साल, गणेशबहादुर खत्री, अमान उल्ला अन्सारी , मोहन सुनार, नवीन योगी, चेतना चौधरी, जोगेन्द्रबहादुर सुनार, जैबहादुर घर्तीमगरलगायत पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका छन्।