खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति 


सेतोखरी सेतोखरी   ५९ मिनेट अगाडि
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति 

काठमाडौं। नेपाल प्रहरीमा निर्वाचनका बेला ‘म्यादी प्रहरी’लाई पोशाक खरिद गर्दा अनियमिताबारे गर्न भन्दै संसदीय समिति बनेको छ। सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ। 

समितिको शुक्रबार बसेको बैठकले यो समितिलाई दुई महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउन कार्यादेश पनि दिएको छ। 
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन्। 

यो विषयमा रास्वपाकै सांसद खगेन्द्र सुनारले पटक पटक कुरा उठाउँदै आएका थिए। उनि बाँके क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन्। यसअघि समितिमै यो मुद्दा उठाउँदा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीसँग बैठकमै चर्काचर्की परेको थियो। 

त्यसपछि उनले यो मुद्दा प्रतिनिनिधसभा र संसदीय समितिहरूमा समेत कैयौपटक उठाइसकेका छन्। 

शुक्रबार समितिको बैठकमा पनि उले यसबारे चासो राखेका थिए।  सांसद सुनारले कपडा खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि लेखा समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।  

‘म्यादी प्रहरीको कपडा खरिदको सन्दर्भमा यत्रो ठूलो विषय उठ्यो, संसारभरि चर्चा भयो, तर सार्वजनिक लेखा समितिमा भने तैँ चुप, मैँ चुपको अवस्था छ’ सुनारले भनेका थिए ‘देश नै हल्लिने यत्रो गम्भीर विषयमा हामी यसरी चुप लागेर बस्न मिल्छरु प्रहरीले गरेको बदमासी, प्रहरी महानिरीक्षकले गरेको बदमासी र त्यो टिमले गरेको बदमासीसम्बन्धी गम्भीर विषयहरू फेला परेका छन्।’ 

त्यसपछि समितिले एउटा अध्ययन समिति बनाएको हो। 

बैठकमा अध्ययन समितिका सदस्य तथा नेकपा एमालेका सांसद ऐन महरले प्रहरी जस्तो गरिमामय संस्थामाथि प्रश्न उठिसकेपछि त्यसको निरूपण गर्न आवश्यक रहेको बताए।  

'अहिले हाम्रो उद्देश्य छानबिन गर्नु होइन, उठेका प्रश्नहरूको सूक्ष्म रूपमा अध्ययन गर्नु हो। त्यसैले छानबिन शब्द प्रयोग नगरी मनिष झाको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।'