काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन्।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्याउने काम गरेको भन्दै थापालाई बधाई दिए।
‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ। तपाईंले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो। त्यसका लागि विशेष बधाई भन्न चाहन्छु’ उनले भने।
उनले गगन थापालाई आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रीका रूपमा काम गर्दादेखि नै देशको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे। थापाले अहिले देशको नेतृत्व गर्ने आँट गरेको भन्दै आफूहरू उनको साथमा रहेको बताए।
‘तपाईंले अन्ततः एकदिन यो देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ भन्नेको थिएँ, आज आएको देख्छु । निकै ठूलो जिम्मेवारी छ। तपाईं अगाडि बढ्नुस् । हामी तपाईंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ,’ प्रचण्डले भने।
प्रचण्डले कांग्रेसभित्र नयाँ पुस्ता र पुरानो पुस्ताबीच विभाजनको भावना विकास गर्न नहुने बताए। समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर अघि बढ्ने भएकाले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले देशमा लोकतन्त्र र संविधानसमेत अप्ठ्यारो अवस्थामा रहेको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए।
‘यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ,’ उनले भने।
मञ्चमै बसेका रवि लामिछानेलाई पनि उनले क्रमभंग गर्न आग्रह गरे।
‘गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ, अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि। अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस्। अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल’ उनले भने।
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार