बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेस र सभापति गगनकुमार थापालाई थुप्रै सुझावहरू दिएका छन्। 

नेपाली काँग्रेसको १५ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसको इतिहासबाट लोकतन्त्रका मूल्य र मान्यताका धेरै कुराहरू सिकेको भन्दै सरकारले लोकतन्त्रको हुर्मत कहिल्यै लिँदैन भनेर ढुक्क हुन पनि आग्रह गरे।

लामिछानेले कांग्रेसको इतिहासको प्रशंसा गर्दै पार्टीको सबैभन्दा ठूलो शक्ति इतिहास भएपनि त्यही इतिहास कमजोरी बन्न सक्ने बताए । उनले कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

‘मलाई विश्वास छ सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ। सहकार्यको यो सिलसिलालाई रास्वपाले सँधै अङ्गीकार गर्नेछ र लोकतन्त्र र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने।

उनले आफू पनि नेपाली काँग्रेस हुनसक्ने स्थितिलाई स्मरण गर्दै काँग्रेस त्यो बेला सुध्रिनै नचाहेकोले आफूले नै पार्टी खोलेको पनि बताए। 

‘म पनि कांग्रेस हुन्थेँ होला, यदी कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, न कि भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला। यदि कांग्रेसले दूरदराजको पीछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला’ उनले भने ‘आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गर्नुभएको छ। ४० वर्षमा नै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस हुन्थेँ होला। र, म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए। तर केही छैन। मुलुकको जिम्मेवारी मिलेरै अघि लैजाने हो।’ 

लामिछानेले पार्टीभित्र सधै विरोधमात्रै गर्ने शक्तिहरूलाई कहिलेकाहिँ छोडेर हिँड्नसक्नुपर्ने पनि सुझाव दिएका छन्। ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ’ उनले भनेका छन्। 

उनले यसलाई आफूले लगाएको दोस्रो ‘गुन’ को रुपमा बुझ्न आग्रह गरे। 

लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन्। 

‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन। किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौँ, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौँ’ उनले भनेका छन् ‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ।’

उनले आगामी निर्वाचनसम्म सरकारले काम गर्ने अवसर पाउनुपर्ने बताए। रास्वपाले राम्रो काम गर्न नसके अर्को निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो। ‘हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौँ। कम्तीमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। लामिछानेले कांग्रेसलाई व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न आग्रह गरे।