काँग्रेस १५औं महाधिवेशन

शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूहरू कोहीकसैप्रति पूर्वाग्रही नभएको भन्दै पार्टीमा एकतावद्ध हुन फेरि सबैलाई अपिल गरेका छन्। १५औं महाधिवेशनको उद्घाटनशत्रलाई सम्बोधन गर्दै थालाले महाधिवेशनमा निम्तोसमेत दिइएका पूर्वसभापति शेरबहादुर देउवाका लागि आफूहरूले कुर्सी खाली राखिदिएको बताए। 
‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ’ उनले भने ‘हामीले शेरबहादुर देउवाको मान राख्ने भनेर उहाँको ढोकामा कतिपटक सलामी दिएर मान हुने होइन। उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो। हामी त्यो मान राख्छौँ।’ 

संस्थापनसँग असन्तुष्ट भएर समानान्तर महाधिवेशनको तयारीमा रहेका देउवालाई सहमहामन्त्री योगेन्द्र चौधरीसहितको एउटा टोलीले शनिबार निम्तोपत्र दिएको थियो। 

थापाले कांग्रेसले लोकतन्त्र र विविधतालाई आत्मसात् गर्दै जनतालाई बुझ्ने भाषामा आफ्ना कुरा राख्न सक्नुपर्ने बताए। कांग्रेसले लोकतन्त्र र जनताका अपेक्षाबीच पुलको काम गर्ने उनको भनाइ थियो।

‘आजबाट कांग्रेस पार्टी बन्द भयो भने के हुन्छरु कांग्रेस हराउँछ मात्र होइन,’ उनले भने, ‘कांग्रेसले डेमोक्रेसी र डेलिभरीको बीचमा पुलको काम गर्छ।’

उनले पार्टीले आफ्ना सिद्धान्त र विचारमा स्पष्ट हुनुपर्ने पनि बताए। पाँचवटा चुनाव हार्नुपरे पनि सिद्धान्तबाट पछि नहट्ने उनको भनाइ थियो। ‘हामी लालुपाते भएर हुँदैन। हाम्रो कुरा स्पष्ट हुनुपर्छ। यता र उता भएर होइन। बरु पाँचवटा चुनाव हार्छौँ तर सिद्धान्तबाट पछि हट्दैनौँ,’ उनले भने।

थापाले पार्टीमा केही नेता-कार्यकर्ता असन्तुष्ट रहेको र कतिपय कांग्रेस छाडेर गएको उल्लेख गर्दै उनीहरूलाई पुनः पार्टीमा जोड्ने प्रयास गरिने बताए।

‘थुप्रैले कांग्रेस छोडेर जानुभएको छ। कांग्रेसलाई तपाईंले होइन, कांग्रेसले तपाईंलाई छाडेको रहेछ। कांग्रेसलाई माया गर्नेहरूलाई हामीले चोट पुर्‍याएका हौँ,’ उनले भने, ‘कांग्रेसले तपाईंलाई छाडेको थियो, अब जोड्न आउँछ भनिदिनुहोला।’ उनले परिवर्तनको अर्थ नयाँ व्यक्ति वा पुस्तामात्र नभएको भन्दै कांग्रेसको आत्मा र विचार पार्टीभित्रै रहेको पनि बताए।

उनले नेपाली काँग्रेससँग ऐतिहासिक मान्छेहरू जोडिएको भन्दै अग्रजहरूका सन्देशलाई आफूहरूले हृदयमै राखेर अघि बढिरहेको पनि बताए। 

‘आज गणेशमान अनि बिपीका छोराछोरीहरू कहाँ हुनुहुन्छ थाहा छैन। तर उहाँहरूको आत्मा हामीसँग छ’ उनले भने।

एक अर्को प्रसङ्गमा थापाले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए।नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।‘खुलामञ्च १० वर्षपछि खुलेको छ। 

‘यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण पनि उनले गरे। 

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

त्यस्तै उनले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बन्ने प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ थियो । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताए। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताए। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उनको भनाइ थियो।

‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए।

राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।

‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भने।