काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?


सेतोखरी सेतोखरी   ५९ मिनेट अगाडि
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?

काठमाडौं। नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि आज उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुँदैछ। १८ गते उद्घाटन भएको १५ औं महाधिवेशनको दोस्रो दिन सोमबार बन्दशत्र तथा छलफलका सेसनहरू भएका थिए। 

त्यहाँ सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनहरूलाई आज पनि हुने बन्दशत्रले पारित गर्नेछ। त्यसपछि उम्मेदवारी दर्ताका कार्यक्रमहरू सुरु हुनेछन्। 

मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। 

मतदान भने २२ गतेमात्रै हुनेछ। असोज २१ गते उम्मेदवारहरूलाई प्रचार प्रसारको समय दिइएको छ। 

सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।

जसमा एकजना सभापति, र वरिष्ठ उपसभापतिसहित चारजना उपसभापति हुनेछन्। हरेक कलस्टरमा महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ। तीन जना महामन्त्री र १५ जना सहमहामन्त्री हुने कार्यसमितिमा केन्द्रीय सदस्यमध्यबाट एकजना कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन्। 

यसपालि सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहनेछन्।