काठमाडौं। नेपाल सशस्त्र प्रहरीका एकजना उच्च अधिकारी बर्खास्तमा परेका छन्। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका हुन्। गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरेको जनाएको छ। यही महिनाकाे अन्तिमतिर उनकाे कार्यकाल सकिएर अवकाश पाउँदै थिए।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको भन्दै उनलाई बर्खास्त गरिएको जनाइएको छ।
यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा परेका थिए। गृह मन्त्रालयस्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको थियो।
दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप लागेको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरीले जनाएको थियो।
दाहाल पूर्वप्रधानन्यायाधीश राणाका ज्वाइँ हुन्। असोज १० गते राति राणालाई प्रहरीले सुरक्षा चुनौतीको कारण देखाउँदै घरबाटै उठाएर प्रहरी कार्यालय लगेको थियो। उनलाई अर्को दिन दिउँसोमात्रै फेरि घर लगेर प्रहरीले नै छोडिदिएको थियो।
प्रहरीले नियन्त्रणमा राखेकै बेला दाहाल त्यही राति जबरालाई भेट्न पुगेका थिए।
विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका देखिएको दाबी पनि सशस्त्र प्रहरी स्रोतले गरेको थियो। उनको जेल सरुवा गराउनमा पनि चोलेन्द्रकै हात रहेको प्रहरीले बताउँदै आएको छ। त्यसमा दाहालले साझेदारको भूमिका निभाएको पनि प्रहरी स्रोत बताउँछ। तर यी आरोपहरूबारेमा प्रहरीले उनको बर्खास्तीमा प्रस्टीकरण दिएको छै।
उनीमाथि लगाइएको आरोपबारे गृहले उल्लेख गरेको ‘आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको’ र ‘बराबर अनुशासनहीन काम गरेको’ भन्ने कुरामा भने ‘बराबर’ कोसँग गरेको भन्ने खुलेको छैन।