काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद गरेको छ।
अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’ अन्तर्गत तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा हान फेई, झाउ लोङक्विन र वाङ जियाङजेन रहेका छन्। उनीहरूले भाडामा लिएको घरमा सुन प्रशोधन गर्ने उपकरण राखेर अवैध कारोबार सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले बताए।
प्रहरीले बरामद गरेको सुनको कुल तौल प्लास्टिकसहित २१ किलो ७५०/६८ ग्राम रहेको छ। नेपाल सुनचाँदी तथा रत्न तथा आभूषण महासंघबाट परीक्षण गराउँदा सुनका बिस्कुट आकारका ढिक्का र लेसिलो अर्धतयारी अवस्थामा रहेको पहेँलो धातु फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद सुनको मूल्य घटनाको दिनको बजार मूल्यअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ।
एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा अर्धतयारी अवस्थामा रहेको सुनलाई प्रशोधन गरी विभिन्न आकारका ढिक्का बनाउने गरेका थिए। प्रहरीले सुन पगाल्ने, आकार दिने, सुकाउने तथा सफा गर्ने मेसिनसहित विभिन्न उपकरण बरामद गरेको छ।
त्यस्तै, सुन तौलने तराजु, सुन ओसारपसारमा प्रयोग भएको बिवाइडी एट्टो ३ गाडी, नेपाली तथा चिनियाँ मुद्रा, राहदानी, विभिन्न बैंकका एटीएम कार्ड, सिमकार्ड र मोबाइल फोनलगायत सामग्री पनि बरामद गरिएको छ।प्रहरीले उक्त घरबाट बरामद गरेको सुनमध्ये दुई टुक्रा गाडीमा राखिएको अवस्थामा फेला परेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू बिहान करिब ५स्५५ बजे घरबाट गाडी निकालेर जान खोज्दा निगरानीमा खटिएको प्रहरी टोलीले रोकेको थियो। त्यसपछि थप प्रहरी टोली पुगेर स्थानीय जनप्रतिनिधि तथा छिमेकीको रोहवरमा खानतलासी गर्दा सुन र प्रशोधनका सामग्री फेला परेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारोबारको मुख्य योजनाकार चीनको ग्वाङ्झाउमा बस्ने जेन जियाल रहेको खुलेको छ। पक्राउ परेका चिनियाँ नागरिकहरूले जेनकै निर्देशनमा सुन प्रशोधन तथा ओसारपसार गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सु ख्यान नामका चिनियाँ नागरिकले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्नेगरी उक्त घर चार महिनाका लागि भाडामा लिएका थिए।
उनले २४ जुलाई २०२६ मा घरधनीसँग सम्झौता गरी १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको खड्काले बताए।सु ख्यान चीन फर्किएपछि घरको साँचो जेन जियाललाई दिएको र जेनले हान फेई तथा झाउ लोङक्विनलाई साँचो दिएर नेपाल पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।प्रहरीका अनुसार हान फेई र झाउ लोङक्विन २७ सेप्टेम्बर २०२६ मा नेपाल आएका थिए भने सु ख्यान १ अक्टोबर २०२६ मा नेपाल आएको अभिलेखबाट पुष्टि भएको छ। सु ख्यान हाल नेपालमा नरहेको प्रहरीले जनाएको छ।
हान फेईले यसअघि पनि परिवारसहित नेपाल आएर सुनको बजार तथा मूल्यबारे जानकारी लिएको र त्यसपछि चीन फर्किएको अनुसन्धानबाट खुलेको खड्काले बताए।
प्रहरीका अनुसार हान फेईले नेपाल आएपछि विमानस्थलस्थित गाडी भाडा सेवाबाट बिवाइडी एट्टो ३ गाडी भाडामा लिएका थिए। उनले उक्त गाडी प्रतिदिन आठ हजार रुपैयाँका दरले भाडामा लिएको प्रहरीले जनाएको छ।गाडीमा राखिएको सुन कतै पुर्याउन लैजान खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ। तर सुन कहाँ पुर्याउन लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए।
अनुसार पक्राउ परेका व्यक्तिहरूले सुन कहाँबाट ल्याइएको थियो, कसलाई पुर्याउने गरिएको थियो र कारोबारमा अरू को–को संलग्न थिए भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन्।
प्रहरीले बरामद गरेको सुनको केही भाग लेसिलो तथा अर्धठोस अवस्थामा रहेको थियो। यस्तो अवस्थामा सुनलाई विभिन्न आकारमा ढाल्न र लुकाउन सहज हुने भएकाले सोही विधि अपनाइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
एसएसपी खड्काका अनुसार अर्धतयारी अवस्थामा रहेको सुनलाई घरमा ल्याएर तताउने, पगाल्ने र मोल्डिङ मेसिनबाट विभिन्न आकारमा ढाल्ने गरिएको थियो।प्रहरीले सुन हवाई मार्ग, स्थलमार्ग वा अन्य माध्यमबाट नेपाल भित्र्याइएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। सुनको वास्तविक स्रोत र यसको बजारबारे पनि अनुसन्धान भइरहेको खड्काले बताए।
प्रहरीले हालसम्मको अनुसन्धानमा उक्त कारोबारमा नेपाली नागरिकको संलग्नता पुष्टि नभएको जनाएको छ। सुन ओसारपसारमा प्रयोग भएको गाडी पनि विमानस्थलको भाडा सेवाबाट लिइएको पाइएको प्रहरीले जनाएको छ।एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूबीचको सम्पर्क तथा कारोबारसम्बन्धी निर्देशनहरू चिनियाँ सामाजिक सञ्जाल विच्याटमार्फत आदानप्रदान हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सुनको आपूर्ति शृङ्खला, कारोबारको सञ्जाल र मुख्य योजनाकारसँग सम्बन्धित थप प्रमाण जुटाउन प्राविधिक अनुसन्धान गरिरहेको जनाएको छ। विच्याटमार्फत भएका संवादको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग सहयोग मागिएको पनि खड्काले बताए।
यद्यपि, सुन नेपालमा कसरी भित्रिएको थियो र यसको कारोबारमा थप को–को संलग्न थिए भन्ने विषयमा अनुसन्धान जारी छ। प्रहरीले अनुसन्धानबाट थप तथ्य खुलेपछि सार्वजनिक गर्ने जनाएको छ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व