दसैंका लागि टिकट बुकिङ खुला


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
दसैंका लागि टिकट बुकिङ खुला

काठमाडौं। दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। 

अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका वस पाकहरुमा टिकट बुकिङ गर्नेहरुको भीड देखिएको हो। गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ६ बजेदेखि नै यात्रुहरूले निरन्तर टिकट काटिरहेका छन्।

दसैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या केही कम हुने अनुमान गरिएको छ। बसपार्कमा यात्रुको चाप रहेपनि विगतका वर्षहरुमा जस्तो भीड भने छैन्।  

पश्चिम नेपाल बस व्यवसायी प्रालि काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप तुलनात्मक रूपमा कम देखिएको बताए। उनले शनिबार र आइतबार भने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको बताएका हुन्। 

उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या कम हुने अनुमान गरे पनि पहिलो दिनमै यकिन तथ्यांक निकाल्न कठिन हुने बताए। आगामी दुई दिनमा यात्रुको वास्तविक चाप स्पष्ट हुने उनले बताए। 

उनले भने, ‘त्यस्तो धेरै चाप छैन। अफिसहरू खुल्ने दिन भएकाले पनि होला त्यस्तो चाप छैन। शनिबार र आइतबार चाप अझ बढ्छ जस्तो लाग्छ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष मान्छेहरू जानुहुन्छ जस्तो लागिरहेको छैन्। पहिलो दिनले ठ्याक्कै त्यो आँकडा निकाल्नलाई गाह्रो हुन्छ।’
यात्रुहरूको सुविधाका लागि टिकट अनलाइन र बसपार्कबाट प्रत्यक्ष रूपमा लिन सकिने व्यवस्था गरिएको बताएका छन्। उनले अनलाइनबाट आधा र बसपार्कमा आएर आधा यात्रुले टिकट लिने गरी व्यवस्थापन गरिएको बताए।
भुषालका अनुसार यात्रुको चापअनुसार तीनदेखि चार जना कर्मचारी परिचालन गरेर टिकट बिक्री भइरहेको छ। आवश्यकताअनुसार थप सवारीसाधनको व्यवस्था गरिँदै गएको र आगामी दिनमा पनि यात्रुको चाप हेरेर गाडी थपिने उनले बताए।

उनले गोंगबु बसपार्कभित्र सवारीसाधनको अभाव नरहेको बताए। बसपार्कभित्र अनधिकृत रूपमा टिकट बिक्री गर्ने वा यात्रुलाई अन्यत्र पठाउने अवस्था नरहेको र प्रहरी प्रशासनको निगरानीसमेत कडा रहेको उनले बताए। 

यात्रुको चाप कुन रुटमा बढी छ भन्ने विषय शुक्रबारदेखि स्पष्ट हुँदै जाने र सोहीअनुसार सवारीसाधन थपेर यात्रुलाई सहज यात्रा गराउने उनले बताए।

यसैगरी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका दुर्घटना तथा डायल इन्चार्जले दसैँमा घर फर्किने यात्रुको चाप बढे पनि विगतका वर्षको तुलनामा यसपटक दाङतर्फको यातायात व्यवस्थापन केही सहज र व्यवस्थित भएको बताए।
उनका अनुसार विगतका वर्षमा लामो समयसम्म सडक तथा यातायात व्यवस्थापनमा समस्या हुने गरेपनि यसपटक छोटो अवधिमा यात्रुको चाप बढेकाले केही भीडभाड भए पनि यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको छ।

उनले यात्रुलाई लाइनमा राख्न तथा व्यवस्थापनमा सहयोग पु¥याउन स्वयंसेवकसमेत परिचालन गरिएको बताए। 
लोत्से बहुउद्देश्यीय संस्थाका महाप्रबन्धक पंकज मल्लको निर्देशनअनुसार असोज २६ गतेदेखि दाङतर्फ जाने बसहरू दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए। 

उनले दसैँको अवसरमा टिकटको भाडा वृद्धि नगरिएको पनि बताए। राज्यले तोकेको भाडादरभन्दा बढी रकम नलिएको भन्दै उनले यात्रुसँग तोकिएकोभन्दा एक रुपैयाँ पनि बढी नलिन यातायात व्यवसायी प्रतिबद्ध रहेको बताए।

केही साताअघि आएको बाढीपहिरो तथा वर्षाका कारण सडक अवरुद्ध हुने र गाडी काठमाडौंसम्म आइपुग्न नसक्ने अवस्था सिर्जना भएपछि यातायात सञ्चालनमा समस्या भएको उनले बताए। अहिले मौसम सफा भएसँगै सडक तथा यातायात सञ्चालनमा सुधार आएको उनले बताए।

उनका अनुसार अहिले दाङबाट छुटेका गाडीहरू बिहान करिब ६ बजे काठमाडौं आइपुगिरहेका छन् भने काठमाडौंबाट छुटेका गाडीहरू पनि निर्धारित समयमा गन्तव्यतर्फ पुगिरहेका छन्। उनले बाढीपहिरोका कारण यसअघि भएको ढिलाइको मुख्य कारण सडकको अवस्था रहेको बताए।
यात्रुको चापलाई ध्यानमा राखेर तत्काल नयाँ गाडीको ‘क्यु’ थप नगरिएको भए पनि आवश्यकता परे थप बस सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। यात्रुको चाप अत्यधिक बढेमा संस्थाका पदाधिकारीसँग समन्वय गरी थप बस सञ्चालन गरिने उनले बताए।
के भन्छन् यात्रुहरु?
विगतका वर्षमा टिकट पाउन समस्या हुने गरेको भए पनि यसपटक भने केही सहज भएको यात्रुहरूले बताएका छन्।

कालिकोटका कसम विकले यसपटक टिकट बुकिङ तथा यात्रु व्यवस्थापन विगतको तुलनामा सहज रहेको बताए। उनले विगतमा दसैँको समयमा बसमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए।
उनले यसपटक लामो दूरीका बसको भाडा भने केही महँगो भएको गुनासो गरे। उनले विगतमा करिब २ हजार २०० देखि २ हजार ५०० रुपैयाँमा यात्रा गरेकोमा अहिले करिब ३ हजार १०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको जानकारी दिए। 

उनले सरकारले दसैँको समयमा यात्रुलाई राहत हुने गरी सार्वजनिक यातायातको भाडादर घटाउन पहल गर्नुपर्ने बताए।
यस्तै, प्युठानका सुमन थापाले विगतमा प्युठान जाने टिकट पाउन निकै कठिन हुने गरेको भए पनि यसपटक दाङसम्मको टिकट सहजै पाएको बताए। 

उनले विगत बर्षका दसैँ समयमा प्युठान जाने यात्रुको एउटै सिटको दोहोरो टिकट काटिने समस्या समेत हुने गरेको उल्लेख गरे। टिकट नपाएपछि दाङसम्मको बस चढेर त्यहाँबाट भालुवाङ हुँदै प्युठान जानुपर्ने अवस्था रहेको उनले बताए।

यसपटक भने दाङ जाने टिकट सहज रूपमा पाएको उनले बताए। दाङबाट प्युठान जाने व्यवस्था मिलाउन सकिने भएकाले पनि यसपटक घर फर्किन केही सहज भएको उनले बताए।